skip this

खर्चकाे भार घटाउन सरकारी सवारी नचढ्ने लिखुकी उपाध्यक्ष अस्मिता थापाकाे घाेषणा

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले सरकारी सवारीसाधन प्रयोग नगर्ने घोषणा गरेकी छिन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्षलाई प्राप्त सवारी एम्बुलेन्स बनाएकी थापाले पालिकामा नयाँ एम्बुलेन्स आएपछि उपाध्यक्षलाई फिर्ता भएको सवारी प्रयोग नगर्ने बताएकी हुन् ।

उपाध्यक्ष थापाले सर्वसाधारण नागरिकसँगै सार्वजनिक सवारीमा यात्रा गर्ने बताइन्। अत्यावश्यक कामका लागि मोटरसाइकल र सार्वजनिक सवारी प्रयोग गरेर पालिकाको काम गर्ने, तर पालिकालाई खर्चको भार थपेर सरकारी सवारी नचढ्ने उनको भनाइ छ । ‘म निर्वाचित हुँदा पालिकामा एम्बुलेन्स थिएन । मलाई प्राप्त सवारी नै एम्बुलेन्सको रूपमा चलाएँ । अहिले हामीले एम्बुलेन्स ल्याइसकेका छौँ, अब पनि म सरकारी सवारी नचढ्ने निर्णयमा छु ।’

उपाध्यक्ष थापाले भनिन्, ‘जनताभन्दा फरक जीवन जिउनु छैन, भर–अभरमा जतिवेला जुनसुकै साधनबाट पनि उपलब्ध हुने नै छु । जनताको भरोसा टुट्न नदिने र सीमित साधन–स्रोतबाट मितव्ययी बन्दै अधिकतम सेवा दिने प्रयास जारी रहनेछ ।’ अत्यावश्यक कामबाहेक अरू समय एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएको सवारीबाट करिब सात महिनामा पालिकाबाट छिमेकी जिल्लामा उपचारका लागि आठजना र काठमाडौंसम्म उपचारका लागि सातजना सर्वसाधारणलाई निःशुल्क सेवा लिएका छन् ।

पालिकाको गाडी उपाध्यक्षले एम्बुलेन्सका रूपमा उपलब्ध गराउँदा उपचारका लागि जिल्लाबाहिर जान सहज भएको स्थानीयले बताएका छन् । उपाध्यक्ष थापाकै पहलमा पालिकाले नयाँ एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ । आठ स्थानीय तह रहेको ओखलढुंगाका सबैजसो जनप्रतिनिधिले सरकारी सवारीसाधन प्रयोग गर्दै आएका छन्। मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्षले सुविधासम्पन्न गाडी र वडाध्यक्षहरूले मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।

nijgadh-supermart-adz1200-630