राष्ट्रिय सहमतिबिना एमसिसी अगाडी नबढाउने माओवादी केन्द्रकाे निर्णय
वि.सं.२०७८ कात्तिक २३ मंगलवार २०:३८

काठमाडौं : नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुष ११-१३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको थियो ।त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले पाँचदलीय गठबन्धन समन्वय समितिमा पार्टीका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको जानकारी पनि प्रवक्ता महराले दिए ।बैठकमा एमसिसीबारे राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडी नबढाउने निर्णय भएकाे पनि उनले बताए ।
माओवादी केन्द्र न्यायालय भित्रको विवाद न्यायालय आफैंले टुंग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराको भनाई छ । माओवादी केन्द्रका प्रवक्ता महराले पाँचदलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्र्याकमा डोहोर्याउनको निम्ति आवश्यक रहेको उल्लेख गरे ।सो समितिले पाँचदलीय गठबन्धनलाई सुदृढ गर्ने उनले बताए ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार २०:३८

















