जीतपुरसिमराको फोहोर विर्सन वीरगञ्जको ल्यान्डफिल साईटमा गर्न वीरगञ्जसँग सम्झौता
के–के छ सम्झौतामा ?
वि.सं.२०८० भदौ ५ मंगलवार १२:४३

बारा– जीतपुरसिमराले फोहोर विर्सनको लागि वीरगञ्जको ल्यान्डफिल साईट प्रयोग गर्ने गर्ने भएको छ ।
जीतपुरसिमरामा उत्सर्जन हुने फोहरमैला बिसर्जन गर्न ल्यान्डफिल साईट प्रयोग गर्ने विषयमा वीरगंज महानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाबीच मंगलबार सम्झौता भएको छ ।

जीतपुरसिमराले दुधौरा पुल छेउमा फाहोर बिर्सजन गर्दै आएको छ । स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले विरोध गरेपछि विर्सजनमा अवरोध भएको बेलामा वीरगञ्ज महानगरको ल्यान्डफिल साईड प्रयोग गर्ने सम्झौता भएको हो ।

वीरगंज महानगरपालिका माताहतमा ल्यान्डफिल साईट प्रयोग सम्बन्धि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल बीच १ भाद्रमा नै सम्झौता–पत्रमा हस्ताक्षर भईसकेको छ ।
वीरगंज महानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाबिच स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (घ) को कानुनी व्यवस्था बमोजिम फोहरमैला बिसर्जनस्थल वा प्रशोधन प्रणालीको विकास र संचालन गर्ने गरी आपसी समन्वय, सहकार्य र साझेदारी सुरु भएको हो ।
के–के छ सम्झौतामा ?
सम्झौता–पत्रमा वीरगंज महानगरपालिकाले जीतपुरसिमरा उपमहानगरपालिकालाई सम्झौता मितिदेखि २०८१ अषाढ सम्म ल्याण्डफिल साईडको प्रयोग गर्न दिनेछ । दुबै पालिकाको आपसी समझदारिको आधारमा नविकरण गर्न सकिने छ ।
त्यसैगरि जीतपुरसिमरा उपमहानगरपालिकाले आ.व.२०८०÷०८१ को लागि प्रति मेट्रिक टन फोहर ल्याण्डफिल साईडमा विसर्जन गरे वापत रु.१.६५०.०० (अक्षरुपी एक हजार छ सय पचास रुपैया मात्र ।) मुल्य अभिवृद्धि कर बाहेक बीरगंज महानगरपालिकाको राजश्व खातामा मासिक रुपमा दाखिला गर्नुपर्नेछ । साथै रकम दाखिला गर्दा अनिवार्य रुपमा फोहरको दैनिक अभिलेखको विवरण दुबै पालिकाले संयुक्त रुपमा राखेको हुनु पर्नेछ सम्झौतमा उल्लेख छ ।
त्यसैगरि सम्झौता–पत्रमा जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रबाट फोहर संकलन गर्दा सम्भव भएसम्म फोहर वर्गीकरण गरी फोहर ओसार पसार गर्ने गाडी वीरगंज महानगरपालिकामा अभिलेख राखि अभिलेखिकृत गाडिले मात्र फोहर ल्याण्डफिल साईडमा ल्याउनु पर्नेछ । साथै ओसार पसार गर्दा फोहर नदेखिने र दुर्गन्ध नहुने गरी त्रिपालले छोपेर मात्र ल्याण्डफिल साईडमा ल्याउनु पर्नेछ ।
त्यसैगरि वीरगंज महानगरपालिकाको फोहरमैला व्यवस्थापन तथा ल्याण्डफिल साईड व्यवस्थापनसंग सम्बन्धित कानुन, निर्णय तथा शर्तहरु समेत यस सम्झौताको अभिन्न अंग हुनेछन जसको पालना जीतपुरसिमरा उपमहानगरपालिकाले समेत गर्नु पर्नेछ भनि सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता लागू गर्ने सम्बन्धमा आउन सक्ने समस्याहरु दुबै पक्षको आपसी समझदारीमा सामाधान गरिनेछ । यो सम्झौता कुनै कारणले भंग गर्नु परेमा भंग गर्न चाहने पक्षले अर्को पक्षलाई कम्तिमा १ महिना अगावै लिखित जानकारी दिनु पर्नेछ ।
सम्झौताको रोहबरका रुपमा वीरगंजकोतर्फबाट वीरगंजका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, वडा नम्बर ५ का अध्यक्ष प्रदीप चौरसिया, नगर प्रमुखका प्राविधिक सल्लाहकार प्रकाश अमात्य, इन्जिनियर छैठौं प्रकाश अधिकारी रहेका थिए ।
त्यसैगरि जीतपुरसिमराबाट नगर प्रवक्ता भोज बहादुर खत्री, जीतपुर सिमरा वडा नं. २ वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, अधिकृत बालाराम खड्का, नगर प्रमुखका स्वकीय सचिव उदय श्रेष्ठ रोहबरमा रहेका थिए ।
वि.सं.२०८० भदौ ५ मंगलवार १२:४३

















