रौतहटमा मर्यादपुर एकीकृत दलित बस्ती उद्घाटन
वि.सं.२०७८ माघ १ शनिवार २०:३१

सिताराम साह
रौतहट (मौलापुर) : रौतहटको मौलापुर नगरपालिकामा मर्यादपुर एकीकृत दलित बस्ती शनिबार उद्घाटन गरिएको छ ।
मौलापुर–२ मर्यादपुर टोलमा मौलापुर नगरपालिकाले निर्माण गरेको एकीकृत दलित बस्तीको नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साह, निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, नेकपा एमाले प्रदेश २ का सहईन्चार्ज सुमनराज प्याकुरेल, उच्चुत मैनाली, नेपाली कांग्रेसका प्रदेश सदस्य त्रिभुवन साह, एमाले जिल्ला अध्यक्ष तुल्सीराज गिरीलगायतको उपस्थिति रहेको थियो ।
नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मौलनपुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल र सञ्चालन मनोज यादवले गरेका थिए ।
आर्थिक वर्ष २०७४/७५ देखि २०७८ मा नगरपालिकाले प्रति घर सात लाख ५० हजारको दरले निर्माण गरिएको मर्यादपुर २५ जना दलित चमार समुदायका स्थानीयलाई दुई कोठे पक्की भवन बस्तीको उद्घाटन भएसंगै स्थानीयलाई हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
एक करोड ८७ लाख ५० हजारको लागतमा एकीकृत दलित बस्ती निर्माण गरिएको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले जानकारी दिइन् ।
दुई वटा कोठा, शौचालय, धारासहितको घर निर्माण गरिएको हो । मुख्य सडकमा सात धुर र भित्र ८ र ९ धुर जमिनमा घर बनाइ फुसको घरमा बस्दै आएका चमार समुदायलाई घर हस्तान्तरण गरिएको हो ।

शैक्षिक संस्था, स्वास्थ्य सस्था, सरकारी कार्यालय, सार्वजनिक पूर्वाधार एवं एकीकृत बस्ती विकास, नगरपालिकाको कार्यालय स्थापना जस्ता दीर्घकालीन पूर्वाधार निर्माणको लागि १३ करोड ५६ लाखको लगानीमा जमिन खरिद गरिएको नगरपालिकाले जनाएको छ । मौलापुर नगरपालिकाले १२ बिगाह, १८ कठ्ठा १० घुर जमिन विभिन्न वडामा खरिद गरेको छ ।
कार्यक्रममा सामुदायिक विद्यालयमा ल्यापटप वितरणको लागि शिक्षा संयोजक चन्देश्वर साहलाई जिम्मा लगाईएको थियो । त्यस्तै ल्याण्ड पोलिङ्ग मार्फत भएको घडेरीको लालपुर्जा वितरण, खेलकुद सामाग्री वितरण, स्वास्थ्य स्वयंसेविकाहरूलाई र कलाकारहरूलाई मोबाईल वितरण गरिएको थियो ।
वि.सं.२०७८ माघ १ शनिवार २०:३१

















