निजगढ महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा शोभा राउत पुनः निर्विरोध (भिडियोसहित)
वि.सं.२०८२ पुस १२ शनिवार २२:२८

बारा-बाराको निजगढ नगरपालिका–८ स्थित निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा शोभा राउत पुनः निर्विरोध निर्वाचित भएकी छन्।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ललिता सापकोटा, सचिवमा किरण श्रेष्ठ र कोषाध्यक्षमा भवानी अधिकारी निर्वाचित भएका छन्। सदस्यहरूमा गायत्री थाप र सीमा घिमिरे चयन भएका छन्।

त्यसैगरी लेखा समितिको संयोजकमा सावित्रा दाहाल तथा सदस्यहरूमा मन्दिरा चौलागाईं र सविना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
साधारण सभाले नयाँ कार्यसमिति निर्वाचनका लागि दुग्ध उत्पादक संघका केन्द्रीय सचिव थानेश्वर सापकोटाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो। निर्वाचन मण्डलका संयोजक सापकोटाले सर्वसम्मत रूपमा आएका नामहरू घोषणा गरेका थिए। नव–निर्वाचित सञ्चालक तथा लेखा समिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथसमेत गराइएको थियो।
संस्थाकी संस्थापक अध्यक्ष लिला देवी लामिछाने खनालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभा अध्यक्ष शोभा राउतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख तथा संस्थाकी संस्थापक अध्यक्ष लिला देवी लामिछाने खनाल रहनुभएको थियो। उहाँले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो।
साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष शोभा राउतले, लेखा समितिको प्रतिवेदन अरुणा मैनालीले र कोषाध्यक्षको प्रतिवेदन किरण श्रेष्ठले प्रस्तुत गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट जेष्ठ बचतकर्ता सम्मान शोभा बडाल, उत्कृष्ट नियमित मासिक बचतकर्ता मैया देवी सापकोटा, उत्कृष्ट दैनिक बचतकर्ता कान्छीमाया श्रेष्ठ, असल ऋणी कल्पना सापकोटा, उत्कृष्ट बाल बचतकर्ता कृतिका तिमल्सिना र उत्कृष्ट शेयर सदस्य लिला देवी लामिछाने खनाललाई सम्मान गरिएको हो ।
संस्थामा विशेष योगदान पु¥याएको भन्दै कर्मचारी बिन्दा चौलागाईंलाई उत्कृष्ट कर्मचारी वर्ष २०८१ बाट सम्मान गरिएको थियो । प्रमुख अतिथि खनालले सम्मानपत्रसहित उनलाई सम्मान गरेकी हुन् ।
२०६४ सालमा स्थापना भएको यस संस्थाले महिलाहरूको मर्मलाई आत्मसात् गर्दै महिला सशक्तीकरणसँगै आर्थिक तथा सामाजिक उन्नयनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
वि.सं.२०८२ पुस १२ शनिवार २२:२८

















