skip this farak Kura Pravakar
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, ज्यान मुद्दामा अनुसन्धान

केपी शर्मा ओली पक्राउ

141 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको प्रहरी टोलीले ओलीलाई नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले पनि पक्राउ भएको पुष्टि गर्दै भने, “हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका छौं।”
प्रहरी टोली उनलाई पक्राउ गर्न रातिदेखि नै ओली निवासमा खटिएको थियो।
यसैबीच, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ।
उनीहरूलाई भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जाने घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपालको इतिहासमा कार्यकारी प्रमुख ज्यानसम्बन्धी फौजदारी अभियोगमा पक्राउ परेको यो पहिलो घटना मानिएको छ। यसअघि राजनीतिक आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीहरू प्रहरी नियन्त्रणमा लिइए पनि फौजदारी मुद्दामा पक्राउ परेका थिएनन्।
तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनले पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरको आरोप लगाएको थियो।
उक्त दफाअनुसार हेलचेक्र्याईंका कारण कसैको ज्यान गएमा अधिकतम ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टामै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसअघि नै गृहमन्त्री सुदन गुरुङले उक्त घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
प्राप्त जानकारीअनुसार, आयोगको प्रतिवेदन कार्यान्वयनसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कानून सचिव पारश्वर ढुंगाना रातभर खटिएका थिए।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, आयोगको प्रतिवेदन मात्रैका आधारमा पक्राउ सम्भव नहुने भएकाले मृतक तथा घाइतेका परिवारले दायर गरेको जाहेरीलाई आधार बनाएर प्रहरीले पक्राउ गरेको हो।
स्रोतका अनुसार, प्रहरीले पक्राउ गर्नु अघि जिल्ला अदालतबाट अनुमति नलिइ तत्कालीन परिस्थितिमा ‘जरुरी पूर्जी’का आधारमा पक्राउ गरिएको हो।
पक्राउपछि सम्बन्धित व्यक्तिलाई पक्राउ पूर्जी प्रदान गरी स्वास्थ्य परीक्षण गरिन्छ र हिरासतमा राखिन्छ। अब ओलीलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।

nijgadh-supermart-adz1200-630