skip this

समाज परिवर्तन र शिक्षाको महत्त्व

96 shares
oil-nigam-amlekhgunj-adv.jpeg

समाज एउटा जीवन्त शरीर जस्तै हो। समयसँगै यसको सोच, चलन, सम्बन्ध र मूल्यहरू बदलिरहन्छन्। यो परिवर्तन आफैं हुँदैन। यसको पछाडि एउटा शक्ति हुन्छ, र त्यो शक्ति हो शिक्षा । शिक्षा बिना परिवर्तन अन्धो हुन्छ, र परिवर्तन बिना शिक्षा निष्क्रिय हुन्छ। त्यसैले यी दुई एकअर्काका परिपूरक हुन् ।

१. समाज परिवर्तन भनेको के हो ?

समाज परिवर्तन भन्नाले मानिसहरूको जीवनशैली, सोचाइ, आर्थिक अवस्था, संस्कार र संस्थाहरूमा आउने रूपान्तरण हो । पहिले जातीय भेदभाव, छुवाछुत, बालविवाह, अशिक्षा सामान्य थिए । अहिले धेरै हदसम्म ती कुरा घटेका छन्। महिलाहरू घरबाट निस्केर नेतृत्वमा पुगेका छन् । प्रविधिले गाउँ–गाउँलाई सहरसँग जोडेको छ ।

तर परिवर्तन सधैं सकारात्मक मात्र हुँदैन । कहिलेकाहीँ उपभोक्तावाद, व्यक्तिवाद, नैतिकताको ह्रासजस्ता नकारात्मक पक्ष पनि देखिन्छन् । त्यसैले परिवर्तनलाई दिशा दिने कुरा आवश्यक पर्छ। त्यो दिशा दिने काम शिक्षाले गर्छ ।

२. शिक्षाको साँचो अर्थ

शिक्षा भन्नाले केवल किताब पढ्नु र प्रमाणपत्र लिनु मात्र होइन। साँचो शिक्षा भनेको मानिसलाई “मानिस” बनाउने प्रक्रिया हो। यसले ज्ञान दिन्छ, चरित्र बनाउँछ र आलोचनात्मक सोच विकास गर्छ । यही सोचले समाजलाई अगाडि धकेल्छ ।

३. शिक्षाले कसरी समाज परिवर्तन गर्छ?

क) कुरीति र अन्धविश्वासको अन्त्य
शिक्षाले अज्ञानताको अन्धकार चिर्छ। छाउपडी, दाइजो, छोरीलाई कम महत्त्व दिने सोचजस्ता कुराहरू शिक्षाको उज्यालोमा क्रमशः हट्दै जान्छन्।
ख) आर्थिक रूपान्तरण
शिक्षाले सीप दिन्छ र रोजगारीको बाटो खोल्छ। एउटा परिवारको आर्थिक अवस्था सुध्रिएपछि पूरै गाउँको मुहार फेरिन सक्छ ।
ग) लोकतन्त्र र सहभागिता
सचेत नागरिक नै लोकतन्त्रको आधार हो। आफ्नो अधिकार र कर्तव्य बुझ्ने तथा गलतलाई प्रश्न गर्ने क्षमता शिक्षाले दिन्छ ।
घ) सामाजिक समरसता
विद्यालयको एउटै कक्षामा सबै जात, धर्म र क्षेत्रका बालबालिका सँगै पढ्दा विभेदका पर्खालहरू कमजोर हुँदै जान्छन् ।

४. तराई र दुर्गम क्षेत्रको शैक्षिक यथार्थ

पाठ्यक्रम देशभर एउटै भए पनि सिकाइ र व्यवस्थापनको गुणस्तरमा ठूलो फरक छ। विशेष गरी दुर्गम र सुविधा कम भएका ठाउँका विद्यालयमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी र नियमित कक्षा नहुने समस्या देखिन्छ ।

यही कारणले गर्दा तराईका जिल्लाहरूबाट समेत सुगम ठाउँमा पढ्न आउने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । अभिभावकहरूले राम्रो पढाइ, राम्रो वातावरण र राम्रो व्यवस्थापन भएको विद्यालय खोज्छन् । नतिजा स्वरूप सुगम क्षेत्रका नाम चलेका विद्यालयहरूमा विद्यार्थीको अत्यधिक चाप परेको छ ।

स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थीको संख्या बढी हुँदा कक्षाकोठामा अट्ने ठाउँ अपुग हुन्छ । एउटा बेन्चमा ४–५ जना बस्नुपर्ने अवस्था आउँछ। शिक्षकले सबै विद्यार्थीलाई पर्याप्त समय दिन नसक्दा पढाइको गुणस्तरमा पनि असर पर्छ। यसरी राम्रो शिक्षा खोज्ने क्रममा नै अर्को भीड र व्यवस्थापनको समस्या सिर्जना भएको छ । यो समस्याको समाधानका लागि दुर्गम क्षेत्रका विद्यालयको गुणस्तर सुधार्नु र सबैतिर समान शैक्षिक अवसरको व्यवस्था गर्नु आजको आवश्यकता हो ।

५. नेपालको सन्दर्भमा शिक्षा र परिवर्तन

हामी बारादेखि मुगुसम्मको नेपाललाई हेर्दा शिक्षाले ल्याएको परिवर्तन प्रस्ट देखिन्छ। पहिले उच्च शिक्षाका लागि विदेश जानुपर्ने अवस्था थियो, अहिले नेपालमै धेरै शैक्षिक अवसर उपलब्ध छन् ।  महिलाहरूको साक्षरता, स्वास्थ्य, सञ्चार र नागरिक सचेतनामा आएको परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण योगदान छ ।

तर चुनौती पनि छन् । हाम्रो शिक्षा अझै रटन्त र नम्बरकेन्द्रित छ। सीपमूलक शिक्षा कमजोर छ । सरकारी र निजी विद्यालयबीचको गुणस्तरको खाडलले नयाँ असमानता जन्माएको छ ।

६. कस्तो शिक्षा चाहिन्छ परिवर्तनका लागि ?

आजको समाजलाई नैतिक शिक्षा, सीपमूलक शिक्षा र नागरिक शिक्षा चाहिन्छ । विद्यार्थीले डिग्री मात्र होइन, आफ्नै खुट्टामा उभिने हिम्मत र सीप पनि पाउनुपर्छ। संविधान, स्थानीय सरकार, वातावरण संरक्षणजस्ता विषयमा पनि ज्ञान हुनुपर्छ ।

७. निष्कर्ष: शिक्षित समाज नै समृद्ध समाज

इतिहासले देखाएको छ, जहाँ शिक्षा पुग्यो त्यहाँ परिवर्तन आयो। बन्दुकले सरकार बदल्न सक्छ, तर सोच बदल्न सक्दैन । सोच बदल्ने औजार कलम हो, र त्यो कलम चलाउने शक्ति शिक्षा हो ।
हामीले चाहेको समाज जहाँ समान अवसर होस्, न्याय होस् र अवसरका लागि मानिसले घर छोडेर भौँतारिनु नपरोस् । त्यो सपना पूरा गर्ने एउटा प्रमुख बाटो भनेको सबै ठाउँमा गुणस्तरीय शिक्षा पुर्‍याउनु हो ।

घर–घरमा एउटा पुस्तक, गाउँ–गाउँमा एउटा राम्रो विद्यालय। यही हो साँचो राष्ट्रनिर्माण ।

-निजगढ, बारा

nijgadh-supermart-adz1200-630