तिलगंगा आँखा अस्पताल निजगढका व्यवस्थापक सुधिर श्रेष्ठको सरुवा
वि.सं.२०८३ भदौ २५ बिहीवार २०:१७
24
shares

निजगढ-तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढका व्यवस्थापक सुधिर श्रेष्ठको सरुवा भएको छ। श्रेष्ठ आगामी आश्विन महिनादेखि तिलगंगा आँखा प्रतिष्ठानमा आबद्ध हुने भएका छन्।
निजगढमा रहँदा अस्पताललाई समुदायसँग अझ नजिक बनाउन तथा आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न पत्रकार तथा स्थानीय समुदायबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको श्रेष्ठले बताएका छन्।
आफ्नो छोटो समयको व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार मित्रहरूबाट प्राप्त सल्लाह, सुझाव र सहकार्यले आफूलाई सहज भएको उल्लेख गर्दै श्रेष्ठले आगामी दिनमा पनि उक्त सहकार्य र सम्बन्ध निरन्तर रहने विश्वास व्यक्त गरे।
तिलगंगा आँखा प्रतिष्ठानको आईओएल लेन्स उत्पादन गर्ने नयाँ उद्योग हेटौंडा–बसामाडीमा निर्माणाधीन रहेको र सो उद्योगको निर्माण तथा प्रशासनिक कार्यसम्बन्धी अभिमुखीकरणका लागि आफू प्रतिष्ठानमा आबद्ध हुन लागेको उनले जानकारी दिए।
निजगढस्थित तिलगंगा आँखा अस्पतालसँग आगामी दिनमा समन्वय आवश्यक परे आफू सधैँ सहयोग गर्न तयार रहेको श्रेष्ठले बताए।
अब अस्पतालको व्यवस्थापनको जिम्मेवारी चन्द्रबहादुर थापाले सम्हाल्ने छन् ।
२७ वर्षदेखि तिलगंगामा आवद्ध थापा राष्ट्रिय वीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् ।
वि.सं.२०८३ भदौ २५ बिहीवार २०:१७

















