कलैयामा सुमोको ठक्करबाट पहिचान नखुलेका युवकको मृत्यु
वि.सं.२०८३ भदौ २६ शुक्रवार ०८:५९
Screenshot
बारा — कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट पहिचान नखुलेका एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २५ गते राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा अन्दाजी २२/२३ वर्षीय पुरुष घाइते भएका थिए।
घाइतेलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। उनको हुलिया उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो पाइन्ट लगाएको, अन्दाजी २२/२३ वर्षीय पुरुष रहेको छ।
मृतकलाई चिन्नुहुने व्यक्ति वा आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१, ९८५५०४५१०१ वा ९८५५०४५७६६ नम्बरमा अथवा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
वि.सं.२०८३ भदौ २६ शुक्रवार ०८:५९

















