skip this hetauda tech

माओवादीले हाँकेको आँबुखैरेनी गाउँपालिका, जहाँ यसरी हुदैँछ जनमुखी काम

3.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरिरहेको छ । बैशाख ३१ मा भएको स्थानीय तह निर्वाचनमा देशका अधिकांश स्थानमा सत्ता गठबन्धन भएको बेलामा यहाँ माओवादी र कांग्रेस प्रतिस्पर्धा गरेका थिए ।

०७४ मा अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको कांग्रेसलाई माओवादीले यो पटक दुई वडामा मात्रै सीमित गर्दा एमालेले एउटा वडामा चित्त बुझाएको थियो ।

गाउँपालिकाको ३६ वर्षिय युवाले नेतृत्व गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता शुक्र चुमान अध्यक्षमा र उपाध्यक्ष दुर्गा अर्याल विजयी भएका छन् । युवा नेतृत्व पाएको आँबुखैरेनीले परिवर्तनको महसुस गर्न थालेका छन् ।

३६ वर्षिय आबुँखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमन ।

लोकप्रिय एजेण्डा बोकेर आँबुखैरेनीका जनताको मन जितेको माओवादीले जनभावनालाई कदर गर्दै अघि बढेको देखिएको छ । माओवादी पार्टीको जिल्ला समन्वय समितिको सचिवमा मनोनित भएका चुमान चुनावी प्रतिवद्धता पुरा गर्ने अभियानमा जुटिसकेका छन् ।

नयाँ नेतृत्व आएसँगै एकपछि अर्को जनमुखि निर्णय गर्दै काम गरिरहेको तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतामाझ फेरी एकपछि अर्को जनमुखि काम गरिरहेको छ । हनीमुन समय भनिने एक सय दिनको कार्य हेर्ने हो भने आँबुखैरेनीमा महसुस गर्न सकिने परिवर्तनलाई यहाँ प्रस्तुत गरिएको छ :

गाउँमै सामाजिक सुरक्षा भत्ता

तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष चुमानले स्थानीय तह निर्वाचनका बेला सामाजिक सुरक्षा भत्ता बैंक वित्तिय संस्थासँग समन्वय गरेर टोल–टोलमा पुगेर वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण ।

आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समेटेर गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ को वैशाख देखि असारसम्मको वितरण गर्न बाँकी सामाजिक सुरक्षा भत्ता टोल–टोलमा पुगेर वितरण गरेको हो ।
आफुले चुनावमा जनता सामु गरेका वाचा पुरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने –‘मेरो पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई कसरी सहज रुपमा गाउँमै भत्ता पु¥याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको छु ।’

सामाजिक सुरक्षा भत्ता पाउँदा दङ्ग परेका जेष्ठ नागरिक ।

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुले गाउँगाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौ लाईन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ ।

विद्यालयमै नर्सिङ सेवा

आँबुखैरेनी गाउँपालिकाले ‘एक मध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा नर्स नियुक्ति गरेको हो ।

गाउँपालिकाले वडा ३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रमको सुरुवात गरेको छ । स्टाफ नर्स प्रकृति कट्वाललाई ३ महिनाको करार सेवामा भदौ २ मा नियुक्ति गरिएको छ ।

नर्स राखेसंगै गर्मीका कारण बेहोस हुने, खेल्दा चोटपटक लाग्ने, महिनावारीको समस्या, टाउको दुख्ने, मौसमी रुघाखोकीको उपचार हुन थालेको छ ।

विद्यालयले छुट्टै मेडिकल रुम बनाएको छ । उक्त रुममा चार वटा बेड र दुई वटा अक्सिजन सिलिन्डर पनि राखिएको छ । नर्सले प्राथमिक उपचार सँगसँगै महिनावारी विशेष शिक्षा, विद्यार्थीको पौष्टिक खाना, बालबालिकाको वृद्धि विकासलगायतमा पनि ध्यान दिएकी छन् । नर्सले महिनावारीको बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान गर्दै आएकी छन् ।

विद्यार्थीलाई औषधि खुवाउँदै विद्यालयकी नर्स ।

विद्यालयमा बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नर्स कार्यक्रम सुरु गरिएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । ‘अहिले हाम्रो लक्ष्य भनेकै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको विकास र विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागी गराउने हो,’ उनले भने ।

गाउँपालिकामा ३४ वटा सामुदायिक र ८ वटा संस्थागत विद्यालय छन् । यसमध्ये पनि ६ वटा विद्यालय मध्यामिक तहका छन् । हाललाई रामशाह माविमा मात्र नर्स करारमा नियुक्त गरिए पनि चाडैं नै अन्य ५ वटा माध्यमिक तहका विद्यालयमा पनि करारमा नर्स नियुक्त गर्ने तयारी रहेको अध्यक्ष चुमानले बताए ।

नयाँ बन्ने घर तथा भवनको नक्सा निःशुल्क

गाउँपालिकाले आगामी असोज १ गतेदेखि लागु हुने गरि त्यसपछि दर्ता भएका नयाँ बन्ने निजि घर र भवनको नक्सा निःशुल्क बनाईदिने भएको हो ।

यो सँगै सेवाग्राहीले प्रस्तावित नक्साकै लागि बाहिर निजि कन्सल्टेन्सीहरुलाई न्युनतम तिर्नुपर्ने ८ देखि १० हजार रुपैयाँ रकम अब तिर्नुनपर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेटमै सेवाग्राहीको नयाँ बन्ने घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने घोषणा गरेको थियो । सोहि बमोजिम यो काम सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । उनका अनुसार तीन तल्ला सम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिनेछ । यद्यपी नक्सा पासका लागि भने राजस्व तिर्नुपर्ने उनले बताए ।

भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरु) भुई तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागु हुने गाउँपालिकाले जनाएको छ ।

यस्तै हाल गाउँपालिकामा स्ट्रक्चरल इन्जिनियरको व्यवस्था नभएकोले पहिलो चरणमा भुई तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको नक्सा निःशुल्क गरेको र छिट्टै गाउँपालिकाले इन्जिनियरको व्यवस्था गरेर उक्त मापदण्ड भन्दा माथिका निजि घर, भवनका साथै व्यावसायिक भवनहरुको समेत निःशुल्क नक्सा बनाउने व्यवस्था गर्ने अध्यक्ष चुमानले बताए ।

निस्सा वितरण

आँबुखैरेनी गाउँपालिका वडा न ४ अन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई निवेदन दर्ताको निस्सा वितरण गरेको छ ।

आधारभूत अस्पतालको लागी पहल

अध्यक्ष चुमनले आधारभूत अस्पतालको स्तरउन्नती र सेवा थपका लागि पनि पहल गरिरहेका छन् । उनको पहलमा इसीजी मेसिन प्राप्त भएको छ भने युएसजी, डाइलाइसिस मेसिन समेत आउने भएको छ । उनको अभियानलाई संसद किसान श्रेष्ठले साथ दिएका छन् । अध्यक्ष चुमन संसद श्रेष्ठसहित स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

लालिगुरास संरक्षण

गाउँपालिकाले लालिगुरास संरक्षणको अभियानमा साथ दिएको छ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनीको छिम्केश्वरीमा लालिगुरास पार्क निर्माण गर्ने अभियान थालिएको छ । गाउँपालिका अध्यक्ष चुमन आफै उपस्थित भएर विरुवा रोपेका थिए । त्यहाँ ११ प्रजातिका लालिगुरास रोपिएको छ ।

लालिगुरास संरक्षणका लागि वृक्षारोपण गरिदै ।

व्यवसाय सुचिकरण तथा नविकरण अभियान

गाउँपालिकाले टोलमै पुगेर व्यवसाय सुचिकरण, नवीकरण र कर सङ्कलन अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि साउन अन्तिमबाट थालिएको अभियान अन्तर्गत शिविरमा दुई सय ३७ जनाले व्यवसाय सुचिकरण र ४ सय ५० नविकरण गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिए । गाउँपालिमा एक हजार एक सय ४६ व्यवसाय सूचिकरण भएका छन् ।

व्यवसाय सुचिकरण, नवीकरण र कर सङ्कलन अभियान सञ्चालन

गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने बताइएको छ । व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

राहत वितरण

गाउँपालिकाले कोभिड–१९ प्रभावितलाई राहत वितरण गरेको छ । संघ सरकारले आर्थिक वर्ष २०७८/०७९ मा उपलब्ध गराएको २७ लाख रकमलाई दुई सय ७० जनालाई रु. १० हजारका दरले वितरण गरेको हो ।

कोभिड–१९ प्रभावितलाई राहत वितरण
nijgadh-supermart-adz1200-630