जनतालाई परिवर्तनको अपेक्षा रहेकाले सरकार र संसद्सामु ठूलो जिम्मेवारी आएको –ओली
वि.सं.२०७९ पुस २५ सोमवार १४:१६

काठमाडौ । जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् ।
आज प्रतिनिधिसभाको पहिलो बैठकमा दलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा संसद् बैठकमा स्वागत गरेका छन् । सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै उनले कृतज्ञताको भाव व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्दै देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्नु, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको बताएका छन् ।
“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उहाँले थप्नुभयो, “सांस्कृतिक मूल्य मान्यता विर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”
उनले मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताएका छन् । महँगी बढ्दो र जनजीवन कष्टकर भइरहेको अवस्थामा मुलुकलाई अगाडि बढाउने उत्तरदायित्व सरकार र सांसदसमक्ष भएको उनले चर्चा गरेका छन् । ।
वि.सं.२०७९ पुस २५ सोमवार १४:१६
















