बकैया–२ का वडाध्यक्ष विश्वराजको सरकारसमक्ष गुहार : “वडा कार्यालय जान २०० किमी घुम्नुपरेको छ, धन्सार र टोङ्टोङ खोलामा पुल बनाइदिनुस्”
वि.सं.२०८२ पुस ९ बुधवार ०८:४२

बारा-मकवानपुरको बकैया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विश्वराज लामाले वडा कार्यालय तथा गाउँपालिका कार्यालयसम्म पुग्नै नसक्ने अवस्था बनेको भन्दै प्रदेश र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
साविक धियाल गाविस, हाल बकैया–२ क्षेत्रका नागरिकहरू सामान्य प्रशासनिक सेवाका लागि समेत करिब २०० किलोमिटरभन्दा बढी दूरी घुम्न बाध्य भएको वडाध्यक्ष लामाले बताएका छन् ।
बागदेव–सरस्वती–तिन्थुम्के–टोङ्टोङ हुँदै हत्तिसुडे जोडिने सडकखण्डमा पर्ने धन्सार खोला र टोङ्टोङ खोलामा साना कल्भर्ट पुल नहुँदा वर्षायाम र हिउँद दुवै समयमा सडक पूर्णरूपमा अवरुद्ध हुने गरेको छ ।
उनका अनुसार उक्त सडकखण्डमा करिब ३०–३५ लाख रुपैयाँ लागतका पाँचवटा साना कल्भर्ट पुल निर्माण गरिदिएमा वर्षभरि नै सडक सञ्चालनमा आउन सक्छ । “साना लगानीले ठूलो समस्या समाधान हुन सक्थ्यो, तर सरकारको नजर अहिलेसम्म यहाँ परेको छैन,” वडाध्यक्ष लामाले फेसबुकमा स्टाटस् लेख्दै दुखेसो पोखे ।
वडाध्यक्ष लामाले यस क्षेत्रबाट विभिन्न नेताहरू निर्वाचित भएर गइसके पनि स्थानीय नागरिकका पीडा भने बेवास्तामा परेको बताए ।
वडास्तरीय निर्णयसहित वर्षेनी सम्बन्धित मन्त्रालयहरूमा समस्याको समाधानका लागि सिफारिस पठाइए पनि ती कागजमै सीमित भएको उनको आरोप छ ।
उनले थपे, “हाम्रो वडा नजिकै राष्ट्रिय गौरवको आयोजना फास्ट ट्र्याक निर्माण भइरहेको छ, तर हामीलाई आफ्नै वडा र गाउँपालिका कार्यालय पुग्ने सामान्य एक लेनको सडकसमेत छैन ।” आफू स्वयं यही कठिन बाटो प्रयोग गरेर सेवामा खटिँदै आएको पनि उनले उल्लेख गरे ।
सरकारले अझै पनि गम्भीरता नदेखाए धियालवासीहरू सम्बन्धित मन्त्रालयमै पुगेर स्थायी रूपमा बसोबास गर्दै आन्दोलन गर्न बाध्य हुने चेतावनी वडाध्यक्ष लामाले दिएका छन् ।
उनले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष तत्काल समस्या समाधान गर्न आग्रह गर्दै सञ्चारकर्मीहरूलाई समेत स्थलगत रूपमा पीडा उजागर गर्न अनुरोध गरेका छन् ।
“जय बकैया, जय धियाल,” भन्दै वडाध्यक्ष लामाले नागरिकको आवाज सरकारसम्म पुर्याइदिन सबैमा अपिल गरेका छन् ।
वि.सं.२०८२ पुस ९ बुधवार ०८:४२

















