skip this

वन उपभोक्ता समूहका पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले वृक्षारोपण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दिपक थापा मगर र जनक थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, समूहमा दाखिला गर्नुपर्ने रकम हिनामिना र अनियमितता गरेको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेको थियो।

तत्कालीन सचिव दिपक थापा मगरले उपभोक्ताहरुबाट रसिद काटी बुझी लिएको दुई लाख ९३ हजार ३ सय रुपैयाँ कोषमा दाखिला नगरेको पाइएकोले भ्रष्टाचार मुद्दा लगाइएको अख्तियारले जनाएको छ।

त्यस्तै तत्कालीन सचिव जनक थापाले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटी बुझी लिएको समूहको कोषमा दाखिला गर्नुपर्ने ७० हजार रुपैयाँ कोषमा दाखिला नगरेको अख्तियारले जनाएको छ।

बनदियपूर्ण ढंगले रकम हानिनोक्सानी गरेको भन्दै अख्तियारले प्रतिवादी थापा मगरलाई २ लाख ९३ हजार ३७२ रुपैयाँ बिगो र जनक थापालाई ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, तथा दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

nijgadh-supermart-adz1200-630