साइबर सेक्युरिटी ल्याब बनाउँदै नेपाल सरकार
वि.सं.२०७८ चैत ७ सोमवार १५:४४

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि ल्याब स्थापना गर्ने भएको छ । त्यसका लागि पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् ।
छनोट हुनेमा भारतको महिपालपुरमा रहेको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम इन्फरम्याटिज्नी र भारतको फ्यालकन राकोमको जेभी रहेको छ ।
यसअघि गएको चैत ४ गते नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनका लागि अन्तर्राष्ट्रिय रुपमा आशय पत्र माग गरेको थियो ।
प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित विज्ञ नेपालको परिवेशमा एकदमै कम भएकाले भोलिका दिनमा यो क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने योजनाका साथ यो परियोजना अघि बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यो परियोजना अघि बढाएको थियो ।
यो परियोजनाको उद्देश्य नेपालको हकमा साइबर सुरक्षासम्बन्धी तालिम दिने ल्याब खोल्नु रहेको छ ।
उक्त कम्पनीले प्राधिकरणले चाबहिलमा रहेको आफ्नो भवनमा ठाउँ उपलब्ध गराउने छ । जहाँ छनोट भएको कम्पनीले ल्याब स्थापना गर्ने, सफ्टवेयर इन्स्टल गर्ने, उनीहरूको म्यानपावर राखी तालिम दिने लगायतका काम गर्ने प्राधिकरणले जनाएको छ ।
ल्याबमा ह्याकिङका घटनाको अध्ययनका लागि आवश्यक सफ्टवेयर, ल्याब सम्पूर्ण हुनेछ । भने, तालिम विज्ञले सुरुमा प्राधिकरण, विभिन्न सरकारी निकायका प्रतिनिधि र त्यसपछि विभिन्न विश्व विद्यालयका विद्यार्थीहरूलाई तालिम दिनेछ ।
यसका लागि प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को बजेटमा २० करोड बजेट छुट्याएको थियो ।
वि.सं.२०७८ चैत ७ सोमवार १५:४४
















