दमकको बजेट नगरसभाबाट पारित
१ अर्ब ६३ करोड ४० लाख ४० हजार रूपैँयाको बजेट
वि.सं.२०७९ साउन ११ बुधवार २३:२२

झापा-झापाको दमक नगरपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट बुधबार नगर सभाबाट पारित भएको छ।
नेकपा एमालेको अवरोधले लामो समय रोकिएको नगरसभा चौथोपटक आजका लागि बोलाइएको थियो। आजको बैठकले बजेट पारित गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा पहिलो पटक गैर एमाले प्रमुख र उपप्रमुख चुनिँदा बहुमत भने एमालेकै छ। बहुमत आफ्नो रहेको भन्दै एमालेले आफू अनुकूल निर्णय गर्न गराउन अड्को थाप्दै आएको थियो।
नगरसभा बैठकमा नगर प्रमुख राम थापाले उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक रेगीना भट्टराईलाई विधेयक पेश गर्न अनुमति दिएपछि उनले पेश गरेकी थिइन्। विधेयक पेश भएपछि कसैबाट पनि असहमति व्यक्त नभएकाले नगर प्रमुख थापाले सर्वसम्म्त पारित भएको घोषणा गरेका थिए।
असार १० गते नगरसभाको पहिलो बैठकमानै नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट पेश भएको थियो। त्यसपश्चात असार २० गतेसम्म विधेयकमाथि सल्लाह, सुझाव तथा राय दिने समय तोकिएको थियो। तर, त्यसयता नगरसभाका ३ वटा बैठक बसे पनि नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यको असहमतिका कारण पारित हुन सकेको थिएन।
आफ्ना आवाज र मागलाई वेवास्ता गरिएको भन्दै एमालेले असन्तुष्टि जनाएको थियो। त्यसपछि विभिन्न चरणमा भएका छलफल पछि सबै नगरसभा सदस्यको सहमतिमा नीति, कार्यक्रम तथा बजेट पारित भएको हो।
नगरसभाले १ अर्ब ६३ करोड ४० लाख ४० हजार रूपैँयाको बजेट पारित गरेको हो। बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ४९ प्रतिशत पुँजिगत खर्चका लागि छुट्ट्याइएको छ।
वि.सं.२०७९ साउन ११ बुधवार २३:२२

















