त्यो दशै : दशैंको दक्षिणा जोगाएर समाजसेवामा खर्च : भोलाप्रसाद गौतम
वि.सं.२०७९ असोज १६ आइतवार १९:५२

बाराको सहकारी अभियन्ता हुन्, भोलाप्रसाद गौतम । निजगढको अग्रणी सहकारी संस्था सगरमाथा साकोसका अध्यक्ष समेत हुन् । उनी सहकारी सञ्जाल निजगढका संयोजक हुन् । शिक्षण पेसाबाट अवकाश लिएर राजनीतिमा लागेका उनी नेकपा (एमाले) को नगर उपाध्यक्ष समेत हुन् । उनै सामाजिक एवं राजनीतिक व्यक्तित्व गौतमको दशैं अनुभुती यहाँ प्रस्तुत गर्दैछौं ।
म करिब १४⁄१५ वर्षको उमेर हुदाँ हामी पहाडबाट निजगढ झरेका थियौं । त्यसबेला हामीले यहाँ आएर दशैंको बेग्लै अनुभति संगाल्ने अवसर पायौं । हामीले हाम्रा अग्रजहरुका राम्रा राम्रा सरसल्लाह पायौं, जसले हामीलाई सामाजिक कार्यमा लाग्ने प्रेरित ग¥यो ।
हामीले दशैंमा पाउने दक्षिणा र तिहारमा देउसी खेलेर जम्मा हुने रकमलाई कहिल्यै फजुल खर्च गरेनौं । म, मेरा भाईबहिनी तथा साथीहरुले त्यस्ता दक्षिणालाई सामाजिक सेवामा लगाउने काम गरेका थियौं । दक्षिणाबाट संकलिन रकमबाट व्यक्तिगत रुपमा कापी कलम किन्न मात्र हैन किन आर्थिक रुपमा हामी भन्दा कमजोर भएका विद्यार्थी भाईबहिनीहरुका लागि सहयोग पनि गरेका थियौं ।
हामी सामाजिक काम गर्न क्लबमा आवद्ध भएका थियौं । त्यस्ता रकम जम्मा गरेर कोष बनाएका थियौं । क्लबमार्फत विभिन्न खेलकुद प्रतियोगितादेखि सांस्कृतिक कार्यक्रम नाटक, लघु नाटक जस्ता सन्देशमुलक कार्यक्रम गरेर समाजमा योगदान दिने काम गरेको थियौं भन्ने अहिले अनुभुति हुने गरेको छ ।
मलाई याद छ, हामीले घरमा पाउने भनेको दक्षिणा १० देखि १५ रुपैयाँमात्र हो । तर हामी सबैले प्रयत्न गर्दा १६ सय रुपैयाँसम्म जम्मा गर्न सकेका थियौं । त्यसबाट हामीले समाजसेवा गरेका थियौं । त्यो बेलामा समाजसेवा गर्न हामीलाई प्रेरित गर्ने हाम्रा अग्रहजहरुप्रति म कृतज्ञ छु ।
वि.सं.२०७९ असोज १६ आइतवार १९:५२


















