अनेम संघ (क्रान्तिकारी) निजगढ नगरमा फुलमाया घलानको नेतृत्वमा नयाँ कमिटी चयन
वि.सं.२०८२ साउन १८ आइतवार ११:२७

बारा–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) निजगढ नगरको दोस्रो सम्मेलन भव्य रूपमा सम्पन्न गर्दै फुलमाया घलानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ। सम्मेलनले ७ पदाधिकारीसहित ५१ सदस्यीय नगर कमिटी सर्वसम्मतिले निर्वाचित गरेको हो ।
नव–निर्वाचित अध्यक्ष फुलमाया घलान नेपाल कम्युनिस्ट आन्दोलनकी सशक्त योद्धा मानिन्छिन्। उनले नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको सशस्त्र जनयुद्धमा सक्रिय सहभागिता जनाउँदै विभिन्न जिम्मेवारी बहन गरेकी थिइन्। जनयुद्धको क्रममा उनले मकवानपुर जिल्लामा कार्यक्षेत्र बनाएर जिल्ला पार्टी सदस्य र तत्कालीन कुलेखाने गाविस इन्चार्जको रूपमा काम गरिन् ।
बसाइँसराइको क्रममा निजगढ (सिंगाैल) पुगेकी फुलमाया यहाँ पनि पार्टी गतिविधिमा सक्रिय रहिन् । उनले पार्टी नगर सदस्य र महिला संघ (क्रान्तिकारी) नगर सचिवको रूपमा काम गर्दै संगठनलाई सशक्त बनाउने अभियानमा नेतृत्व प्रदान गरिन् । हालै सम्पन्न अधिवेशनबाट उनी नगर अध्यक्षमा निर्वाचित भएकी छिन् ।
स्थानीय सरकारमा सक्रिय भूमिका
पार्टी राजनीतिसँगै फुलमाया स्थानीय सरकारमा पनि सक्रिय छिन्। निजगढ नगरपालिका–१ काे वडा सदस्य निर्वाचित हुँदै नगर कार्यपालिका सदस्य बनेकी हुन् ।
आफ्नो कार्यकालमा उनले स्थानीय जनताको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न सचेतनामूलक र विकास गतिविधिहरूमा नेतृत्व गर्दै आएकी छिन् ।
नगर अध्यक्ष धनमाया लामाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं अनेम संघ केन्द्रीय सचिवालय सदस्य गीता कडेल, जितपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल, अनेम संघ क्रान्तिकारी मधेस प्रदेश संयोजक शिला खनाल, पार्टी मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अनेम संघ बारा जिल्ला संयोजक शोभा कार्की, राष्ट्रिय तामाङ मुक्ति मोर्चा मधेस प्रदेश संयोजक बेनि बहादुर मोक्तान, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्ताेष दंगाल, जीतपुरसिमरा नगर सचिवालय सदस्य भरत भण्डारी, अनेम संघ जीतपुरसिमराकी अध्यक्ष सिर्जना चौलागाई, नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य मोहन बहादुर खड्का (दिपक) र संजिव लोप्चन, कार्यपालिका सदस्य अरुणा विक, पवित्रा सुनार, नगर पार्टीका सम्पूर्ण पदाधिकारी, वाईसिएल बारा जिल्ला सचिव लिला सापकोटा लगायतको उपस्थिति थियो ।
वि.सं.२०८२ साउन १८ आइतवार ११:२७
















