skip this

फेटा घटनाको निष्पक्ष छानबिन गर्न रास्वपा RAT को माग, गोली चलाउने आदेश कसले दियो भन्दै उठायो प्रश्न

48 shares
oil-nigam-amlekhgunj-adv.jpeg
बारा- बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटन कार्यक्रमका क्रममा उत्पन्न विवादपछि प्रहरी र स्थानीयबीच भएको झडप तथा प्रहरीले गोली चलाएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को र्‍यापिड एक्सन टिम (RAT) बारा जिल्ला विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ।
रास्वपा RAT बारा जिल्ला विभागका प्रमुख तथा संयोजक आदित्य मेहताले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घाइतेहरूको तत्काल निःशुल्क तथा उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
जनताको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको अस्पताल उद्घाटनजस्तो संवेदनशील कार्यक्रममा विवाद उत्पन्न भई प्रहरी र नागरिकबीच झडप हुनु तथा गोली चल्ने अवस्था सिर्जना हुनु दुःखद र चिन्ताजनक विषय भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमार्फत रास्वपाले प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन र कसरी सिर्जना भयो, परिस्थितिलाई नियन्त्रणमा लिन शान्तिपूर्ण विकल्प किन अपनाइएन र गोली चलाउने आदेश कसले दियो भन्ने प्रश्न उठाउँदै सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग स्पष्ट जवाफ माग गरेको छ।
लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षाको जिम्मेवारी राज्यको हुने उल्लेख गर्दै RAT ले घटनाको स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा उच्चस्तरीय छानबिन गर्न माग गरेको छ। घटनामा दोषी देखिने जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने उसको माग छ।
त्यस्तै, घटनामा कुनै निर्दोष नागरिकमाथि अन्याय हुन नहुने, दोषीले राजनीतिक वा प्रशासनिक संरक्षण पाउन नहुने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने विज्ञप्तिमा जनाइएको छ।
रास्वपाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन, शान्ति सुरक्षा कायम राख्न तथा संवादमार्फत समस्याको समाधान खोज्नसमेत अपिल गरेको छ।
‘जनताको जीवनभन्दा ठूलो कुनै पद, प्रतिष्ठा वा राजनीतिक स्वार्थ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ। जनताको सुरक्षा, न्याय र अधिकारको पक्षमा पार्टी सदैव प्रतिबद्ध रहने पनि RAT बारा जिल्ला विभागले जनाएको छ।
nijgadh-supermart-adz1200-630