आयातमा लचिलो बन्दै सरकार : केराउ, सुपारी र कालो मरिचको आयात खुला
वि.सं.२०७९ भदौ २७ सोमवार २०:२५

काठमाडौं- सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ ।
२१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक भएको छ ।
सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को पैठारी गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो ।
नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।
वि.सं.२०७९ भदौ २७ सोमवार २०:२५

















