निजगढको साझा भवन ओझेलमा, संरक्षण र मर्मतका लागि स्थानीयको दबाब
वि.सं.२०८३ जेठ २५ सोमवार १०:५९

निजगढ नगरपालिका वडा नं. ९ मा रहेको साझा भवन संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। विगतमा धान मिल सञ्चालन गरी स्थानीय कृषक तथा सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक सेवा प्रदान गर्दै आएको उक्त भवन हाल प्रयोगविहीन अवस्थामा पुगेको छ।
स्थानीयका अनुसार कृषि उत्पादन प्रशोधन तथा आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा रहेको भवन केही वर्षअघि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरणपछि भवनको संरक्षण, मर्मत तथा व्यवस्थापनमा आवश्यक ध्यान नदिँदा यसको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ।
कुनै समय स्थानीय किसानले उत्पादन गरेको धान प्रशोधन गर्ने मुख्य केन्द्रका रूपमा परिचित भवन अहिले जीर्ण संरचनामा परिणत भएको छ। छाना, भित्ता तथा अन्य संरचनामा क्षति देखिन थालेपछि भवन प्रयोग गर्नसमेत कठिन बन्दै गएको स्थानीयवासी बताउँछन्।
स्थानीयको भनाइमा यो भवनलाई पुनः आर्थिक प्रयोजनमा प्रयोग गर्न सकिने पर्याप्त सम्भावना रहेको छ। कृषि उपज प्रशोधन, भण्डारण, सहकारी गतिविधि वा अन्य उत्पादनमूलक कार्य सञ्चालन गरी स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन सकिने भए पनि सम्बन्धित निकायको उदासीनताले सार्वजनिक सम्पत्ति ओझेलमा परेको उनीहरूको गुनासो छ।
स्थानीय सरोकारवालाहरूले नगरपालिकालाई भवनको तत्काल संरक्षण तथा मर्मत गरी आर्थिक गतिविधिसँग जोड्न आग्रह गरेका छन्। समयमै आवश्यक पहल नभएमा विगतमा स्थानीय कृषकको आर्थिक आधार बनेको यो संरचना पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुग्ने चिन्ता व्यक्त गरिएको छ।
सार्वजनिक लगानीबाट निर्माण भएको र एक समय स्थानीय अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको साझा भवनको संरक्षण तथा पुनः उपयोगका लागि सम्बन्धित निकायले चासो देखाउनुपर्ने माग स्थानीयवासीले गरेका छन्।
वि.सं.२०८३ जेठ २५ सोमवार १०:५९

















