skip this farak Kura Pravakar

जीतपुरसिमराका मेयरकाे जनयुद्ध दिवसको शुभकामना सन्देश : अर्थ, महत्व र औचित्यकाे चर्चा

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले जनयुद्ध दिवसकाे जीतपुरसिमरावासीलाई शुभकामना दिएका छन् ।

२९ औं जनयुद्धकाे वार्षिकोत्सवको अवसरमा मंगलबार शुभकामना सन्देश प्रकाशन गर्दै मेयर पाैडेलले आदरणीय बुवा, आमा, दाजुभाई, दिदी बहिनी तथा स्वदेश- विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

मेयर पाैडेल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् ।

उनले जनयुद्धका क्रममा रामेश्वर पासवान सहितका जीतपुरसिमरावासी २१ जनाले सहादत प्राप्त गरेकाे उल्लेख गर्दै सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै जनयुद्धका क्रममा घाइते अपाङ्ग तथा वेपत्ता योद्धाहरु र उहाँका परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दै महान जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु भनेर शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

अर्थ, महत्व र औचित्यकाे चर्चा

मेयर पाैडेलले जारी गरेकाे शुभकामना सन्देशमा जनयुद्धको अर्थ, महत्व र औचित्यकाे चर्चा समेत गरेका छन् ।

जनयुद्ध दिवसमा सरकारले दिदै आएको सार्वजनिक विदा सर्वाेच्च अदालतले खारेज गरेकाे माओवादी पक्ति असन्तुष्ट भएको बेलामा मेयर पाैडेलले २०७८/०६/०१ को संबैधानिक इजलासले गरेकाे फैसलाकाे सन्दर्भ उल्लेख गर्दै जनयुद्धको ओैचित्यकाे पुष्टि गरेको जनाएका छन् ।

यस्ताे छ शुभकामना सन्देश :

महान् जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा जीतपुरसिमरावासी आदरणीय बुवा, आमा, दाजुभाई, दिदी बहिनी तथा स्वदेश- विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा क्रान्तिकारी राजनैतिक परिवर्तनको यो ऐतिहासिक सन्दर्भमा जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन उच्च बलिदान गर्नुहुने सम्पूर्ण महान सहिदहरु र रामेश्वर पासवान सहितका जीतपुरसिमरावासी २१ जना सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै महान जनयुद्धका क्रममा घाइते अपाङ्ग तथा वेपत्ता योद्धाहरु र उहाँका परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।

नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ जहाँ जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलन पश्चात नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भई संविधान सभामार्फत नयाँ संविधान निर्माण भएको हो । संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पनि जनयुद्धकै योगदान हो भन्ने कुरामा दुईमत हुनै सक्दैन र जसको फलस्वरुप संघ, प्रदेश र स्थानीय तह सरकारहरुको स्वरुप अभ्यासमा आएको कुरा जीवन्त नै छ ।

ऐतिहासिक रुपमा नै नेपालमा एकात्मक राज्य संरचना रहेकोमा दशवर्षे द्वन्द र २०६२/६३ को जनआन्दोलन पश्चात पुनस्थापित व्यवस्थापिका संसदले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र अवलम्बन गर्ने कुराको घोषणा गरेको, तत्पश्चात नेपालको अन्तरिम संविधान,२०६३ को प्रस्तावना र धारा ४ मा “नेपाल एक संघीय लोकतन्त्रिक गणतान्त्रिक राज्य” रहेको उल्लेख गदै धारा १३८ मा राज्यको केन्द्रिकृत र एकात्मक ढाँचाको अन्त्य गदै समावेशी, लोकतन्त्रिक र संघीयता सहितको अग्रगामी पुनर्संरचना गरिने कुराको प्रण गरेको पाइन्छ। यस्तो संरचनामा प्रदेश एवम् स्थानीय स्वायत्त शासन निकाय रहने कुराको परिकल्पना पनि संविधानले गरेको र संघीय स्वरुपको टुङ्गो भने संविधान सभाले लगाउने कुरा पनि उल्लेख गरेको पाईन्छ । सोही अनुरुप मुलुकमा संघीय स्वरुपको निर्धारण वर्तमान संविधानले गरेको छ, जसको श्रेय जनयुद्ध (१०बर्षे द्वन्द) लाई जाने कुरा मितिः२०७८/०६/०१ को संबैधानिक इजलासले समेत पुष्ठि गरेको छ ।

अन्त्यमा, २९ औं जनयुद्ध दिवस मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य विभिन्न संघर्षबाट प्राप्त उपलब्धी एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको अवगत गराउँदै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली जनसमुदाय तथा श्रमजीवि मजदुरहरुमा पुनः बधाई र शुभकामना व्यक्त गर्दछु ।

२०८० साल फाल्गुन १ गते, मंगलबार ।
ने.सं. ११४४ सिल्लाथ्व, ४ मंगलबार ।

nijgadh-supermart-adz1200-630