नेपाल अपाङ्ग महिला संघको सामाजिक लेखा परीक्षण सम्पन्न
वि.सं.२०८० फागुन १ मंगलवार ०७:००
काठमाडौं-नेपाल अपाङ्ग महिला संघको सामाजिक लेखा परीक्षण राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
२०५४ साल देखि अपाङ्गता भएका महिला तथा बालिकाहरूको हकहित तथा अधिकारका लागि कार्यरत यस संस्थाबाट चौतिस जिल्लाका पच्चिस हजार अपाङ्गता भएका महिला तथा बालिकाहरूलाई लाभान्वित भएका छन् ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा संस्थाद्धारा सम्पन्न कार्यक्रमका सम्बन्धमा एक प्रस्तुतिकरण गर्दै नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकला पराजुलीले संस्थालाई अझ अगाडि वढाउनका लागि सबैको सुझाव महत्वपूर्ण हुने बताईन् ।
त्यसैगरी संस्थाकी लेखा शाखाकी कर्मचारी तुलसा थापा मगरले बित्त तथा लेखा सम्बन्धी विवरणबारे प्रस्तुतिकरण गरिन ।
सो संस्थाको सामाजिक लेखा परीक्षणका लागि सहजिकरण गरेका श्रोत व्यक्ति लुभराज न्यौपाने संस्थाको समग्र पक्षका बारेमा सुपरीवेक्षण गर्दै आफ्नो सुझाव तथा सिफारिस सहितको एक प्रस्तुतिकरण दिएका थिए ।
सो कार्यक्रममा नेपाल अपाङ्ग महिला संघलाई संस्थागत विकास लगायत अन्य विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि सहकार्य गरिरहेको संस्था सिबिएम ग्लोबल डिसेबिलीटी इन्क्लुजनको तर्फबाट आफ्नो विचार राख्दै परियोजना अधिकृत बिमल पौडेलले अबका दिनमा यस संस्थाले न्यून प्रतिनिधित्व भएका समुहहरूलाई केन्द्रित गरेर संस्थाका गतिविधिहरू सञ्चालन गर्नु आवश्यकता रहेको औंल्याए ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टीका दाहालले सो सामाजिक लेखा परिक्षण कार्यक्रमबाट आएका सुझावहरूका लागि सहभागि वक्ताहरूलाई आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा उक्त सुझावहरू समेटनका लागि हरसंभव प्रयास गर्ने बताए ।
वि.सं.२०८० फागुन १ मंगलवार ०७:००