बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए
वि.सं.२०७८ फागुन ६ शुक्रवार १४:१७

बाँके । बाँकेमा पछिल्लो ६ महिनामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
स्वास्थ्य कार्यालयका कुष्ठरोगस्रोत व्यक्ति मानव नेपालीका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् ।
नेपालगञ्जमा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा छ, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको उनले बताए।
गएको आर्थिक वर्षमा बाँकेमा १२८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको नेपालीले बताए।
उनले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क हुने भएकाले उपचारको पहुँचमा आउन सबैलाई आग्रह गरे। कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ ।
लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजनाभन्दा कम भए निवारण भएको मानिन्छ । बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको सङ्क्रमण देखिएको छ ।
बाँकेको जानकी–३ मानपुरमा रेफरल अस्पतालका रूपमा रहेको साइनिङ अस्पतालमा कुष्ठरोगको उपचार हुने गरेको छ । अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनामा ७४ नयाँ कुष्ठरोगी फेला परेको अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए। तीमध्ये बाँकेका ३०, बर्दियाका २२, दाङका पाँचसहित अरु सल्यान, प्यूठान र भारतीय बिरामी हुन् ।
भारतसँगको खुला सीमानाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसङ्ख्या पनि धेरै हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या बाँकेमा बढी देखिएको हुनसक्ने थारूको भनाइ छ ।
कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदान नै निवारणको पहिलो उपाय भएको जनाउँदै उहाँले कुष्ठरोगको उपचार निःशुल्क हुने भएकाले त्यस्ता बिरामीलाई सम्पर्कमा आउन आग्रह पनि गरे।
कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर समयमै उपचार गरे शरीर अङ्गभङ्ग हुनबाट जोगिने उनले बताए।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १४:१७

















