निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालद्धारा बालबालिकामा दृष्टिदोषबारे सचेतना अभियान सञ्चालन
वि.सं.२०८२ चैत २२ आइतवार १०:२४

निजगढ– बालबालिकामा बढ्दो दृष्टिसम्बन्धी समस्या (दृष्टिदोष) प्रति अभिभावक तथा विद्यालयलाई सचेत गराउने उद्देश्यले निजगढ क्षेत्रमा जनचेतनामूलक सन्देश फैलाइएको छ ।
हाल बालबालिकामा मोबाइल, टिभी र किताब अत्यधिक नजिकबाट हेर्ने बानीका कारण आँखासम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
निजगढ नगरपालिका, शिक्षा शाखा, निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल तथा विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा यो सचेतनामूलक कार्यक्रम निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको हो ।
शुभारम्भ कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठ, अस्पताल प्रमुख डा. विष्णुहरी मरहट्टा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा,
विद्यालयका शिक्षक राजकुमार सापकोटाको उपस्थिति रहेको थियो ।
लेखिएको कुरा बुझ्न गाह्रो हुनु, टिभी वा मोबाइल नजिकबाट हेर्नु, आँखा मिच्दै वा टाउको बाङ्गो पारेर हेर्ने बानी हुनु जस्ता लक्षण देखिएमा दृष्टिदोषको संकेत हुन सक्ने बारे बोर्डमार्फत सचेतना दिईएको छ ।
यस्ता समस्या बारम्बार देखिएमा समयमै परीक्षण गराउन आवश्यक रहेको जनाइएको छ ।
अस्पताल प्रमुख डा. मरहट्टा दृष्टिदोष भएका बालबालिकाले नजिकको वस्तु देख्न सक्ने तर टाढाको वस्तु धमिलो देख्ने वा नदेख्ने समस्या भोग्न सक्छन् । समयमै उपचार नगरेमा “एम्ब्लायोपिया” (अल्छी आँखा) जस्तो गम्भीर समस्या पनि हुन सक्ने अस्पताल प्रमुख मरहट्टाले सचेत गराएका छन् ।
अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले अभियान अन्तर्गत नगरका सबै विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुमा एमलायोेपिया ‘अल्छि आँखा’ सम्बन्धि जाँच गराएर आँखा सम्बन्धि समस्या निराकरण गर्न कार्यक्रम शुरु गरिएको जानकारी दिएका छन् ।
अभियानअन्तर्गत अभिभावकलाई आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउन आग्रह गरिएको छ । विद्यालय भर्ना अघि कम्तीमा एकपटक अनिवार्य आँखा जाँच गर्नुपर्ने र चिकित्सकको सल्लाहअनुसार प्रत्येक ३ देखि ६ महिनामा पुनः परीक्षण गराउन सुझाव दिइएको छ ।
वि.सं.२०८२ चैत २२ आइतवार १०:२४
















