चितवनका ६ पालिकामा गठबन्धनको भागबन्डा, कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने
वि.सं.२०७९ वैशाख ८ बिहीवार १२:३०

काठमाडौं । सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा भागबन्डाको खाका तयार गरेको छ । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।
कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ ।
माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।कांग्रेस चितवनका सभापति राजेश्वर खनालले इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने जनाए ।उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ । बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाए ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १२:३०

















