भारतले धान-चामल निर्यातमा २० प्रतिशत भन्सार बढायो, कनिका निर्यातमा रोक
वि.सं.२०७९ भदौ २४ शुक्रवार १३:२६

काठमाण्डौँ– भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलामा कर वृद्धि गरेको छ ।
नेपालले वाषिर्क झण्डै ३० अर्ब हारहार मूल्यको धान चामल भारतबाट आयात गरिरेहको छ, जसमा कनिकाको हिस्सा १० अर्ब भन्दा माथि छ । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।
भारतका केही राज्यमा कम वर्षाका कारण हालसम्म चलिरहेको खरीप सिजनमा धानबालीको क्षेत्रफल ५.६२ प्रतिशतले घटेर ३८३.९९ लाख हेक्टरमा पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ ।
भारतले आर्थिक वर्ष २०२१/२२ मा २१.२ मिलियन टन चामल निकासी गरेको थियो, जसमा ३.९४ मिलियन टन बासमती चामल थियो । सोही अवधिमा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैर-बासमती चामल निकासी गरेको आधिकारिक तथ्यांक छ ।
मुलुकले २०२१/२२ मा गैर-बासमती चामल १५० भन्दा बढी देशमा निर्यात गरेको थियो।
गत वर्ष २०२०-२१ मा १२४.३७ मिलियन टनको तुलनामा गत बाली वर्षमा धान उत्पादन बढेर १३०.२९ मिलियन टन भएको थियो।
भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाइरहेको छ ।
वि.सं.२०७९ भदौ २४ शुक्रवार १३:२६
















