अफगानिस्तान अपडेट : शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने गृहमन्त्रीको भनाई, राष्ट्रपतिले बाेलाए बैठक
वि.सं.२०७८ साउन ३१ आइतवार १६:४३
काठमाडौं : अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएकाछन् ।
तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन´, सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ,’ रेकर्ड गरिएको सन्देशमा उनले भनेका छन् ।
तालिबानले शक्ति प्रयोग गरेर राजधानी कब्जा नगर्ने बताएसँगै काबुलमा पछिल्लो समय आतङ्क केही कम भएको अलजजिराले जनाएको छ ।
सडकमा देखिएको ट्राफिक केही कम भएको छ । गृह मन्त्रालयले पनि लडाकुहरू सहरको प्रवेशद्वारमा रहेको तर मुख्य सहरमा प्रवेश नगरेको स्पष्ट पारेको छ ।
राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् ।
राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।
यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ । शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् ।
केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् । तालिबानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न घानी सरकारलाई आग्रह गरेको छ । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ ।
वि.सं.२०७८ साउन ३१ आइतवार १६:४३