skip this

निजगढमा तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न

78 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र German Sparkassenstiftung for International Cooperation को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न भएको छ।

भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक संस्थाका सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३ जना पुरुष र २२ जना महिला रहेका थिए।

तालिमको उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष मणिश्वर घिमिरेको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष निर्मल कुमार भण्डारी, सचिव मनोज कुमार रेग्मी, कोषाध्यक्ष सकुन्तला कुमारी लामा, शिक्षा तथा तालिम उपसमिति सदस्य भीम प्रसाद सापकोटा, व्यवस्थापक विवेक कुमार ठाकुर, कर्जा अधिकृत रोहितचन्द घिमिरे, लेखा अधिकृत सुभाष दहाल तथा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष भण्डारीले सहभागीलाई स्वागत गर्दै तालिमको आवश्यकता र महत्वबारे प्रकाश पार्नुभएको थियो। संस्थाका अध्यक्ष घिमिरेले तालिमले सदस्यहरूलाई व्यवसायमुखी, आत्मनिर्भर तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्णय लिन सक्षम बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

उहाँले संस्थाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटअन्तर्गत युवा, महिला तथा लघु व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। युवालाई सहकारीतर्फ आकर्षित गर्ने तथा सदस्यको सुरक्षाका लागि योगदानमा आधारित सदस्य सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन संस्थाले निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो।

तालिमका क्रममा सहभागीलाई पाँच/पाँच जनाको समूह बनाई पाँच वटा समूहमा विभाजन गरिएको थियो। सहभागीहरूले ‘आमा जुस पसल’, ‘निजगढ जुस पसल’, ‘प्राप्ति जुस पसल’, ‘नारायणी जुस पसल’ र ‘लक्ष्मी जुस पसल’ नामका काल्पनिक व्यवसाय सञ्चालन गर्दै विभिन्न व्यावसायिक परिस्थिति, पुँजी, स्रोत तथा जोखिम व्यवस्थापनसम्बन्धी अभ्यास गरेका थिए।

प्रतियोगितात्मक अभ्यासमा ‘आमा जुस पसल’ समूह प्रथम भएको थियो। प्रथम समूहमा सकुन्तला कुमारी लामा, मुना बुढाथोकी, सीता देवी खड्का र जानकी भट्टराई सहभागी रहेका थिए। विजेता समूहलाई उपहारसमेत प्रदान गरिएको थियो।

तालिममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो। सहभागीहरूले तालिम व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक सदस्यहरूका लागि निकै प्रभावकारी, व्यावहारिक र फलदायी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सञ्चालक एवं शिक्षा तथा तालिम उपसमिति सदस्य भीम प्रसाद सापकोटाले गर्नुभएको थियो। तालिमको व्यवस्थापन संस्थाको शिक्षा तथा तालिम उपसमिति र व्यवस्थापन पक्षले गरेको थियो।

नेफ्स्कुनले सेवा शुभारम्भ साकोससँग आगामी दिनमा पनि यस्ता तालिम तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

nijgadh-supermart-adz1200-630