बहस : के हो एकल जीवन ? महिलामाथि मात्र किन बन्देज !

1.25K shares

जीवन जिउने सबैको आफ्नो अधिकार हुन्छ । सबैले आफ्नै तरिका र शैलिमा जीवन जिउन चाहान्छन् । हामी संसारमा जन्मेपछि आफ्नै तरिकाले जिउन पाउनु पर्छ ।

यसै बारेमा आज केही लेख्न मन लाग्यो । एकल शब्द सुन्ने बित्तिकै हामी सहजै बुझ्न सक्छौं एक्लो जीवन, अर्थात आर्थिक, मानसिक र सामाजिक रुपमा कसैको सहयोग बिना नै जिन्दगी अगाडि बढाउनु हो ।

यो विषयलाई भिन्न–भिन्न रुपमा विश्लेषण गरिएको छ । पहिलो–विवाह न गरि एक्लै जीवन बिताउनु, दोश्रो–श्रीमान वा श्रीमतीको मृत्यु पछि एक्लो जीवन बिताउनु, तेश्रो–विचार न मिल्दा पारपाचुके वा धोका पाएर जीवन विताउनुलाई एक्कल जीवनको रुपमा लिइएको छ ।

एक्कल महिला र पुरुषलाई समाजले अपराधिको रुपमा लिने गरेको छ । तर व्यवहारिक रुपमा महिला र पुरुष बिचमा समाजको दृष्टिकोण फरक छ । सर्वप्रथम कुरा गरौं, विवाह नगरी बस्ने महिला वा पुरुषको, उमेर पुगेर पनि यदि विवाह गरिएको छैन भने, आफन्त र साथीभाइहरुले विवाह न गरि जिन्दगी जाने भयो, गोप्य कोहि राखेको होला भन्ने खालका टीका टिप्पणी गर्दै मानसिक तनाव दिन थाल्छन् । है के भनेको होला विवाह नगरेर ठूलो अपराध गरेछु कि क्या हो भनी सोच्न बाध्य बनाइन्छ । कसले कसरी जीवन बिताउने हो यो बारेमा दुनियाँको चाँसो किन ?

त्यस्तै विधुवा र बिदुर महिला पुरुषको आफ्नै किसिमको पीडा छ । तर यी दुबैलाइ हेर्ने समाजको धारणा अलि फरक छ । महिला बिधुवा भईन भने उनको अनुहार विहान हेर्न हुँदैन, शुभकार्यमा जानु हुँदैन, रातो टीका–चुरा– पोते लगाउनु हुँदैन । यति मात्र होइन लोग्नेको ज्यान खाने आइमाई, कुलक्षिणि लगायतका नाम दिइन्छ । अर्थात उनी हिँड्ने बाटोमा काँडा नै काँडा हुन्छ । रङबिहिन भै मनका इच्छा, चाहना र सपना मारेर जिउँदो लास बनेर बाँच्न बाध्य बनाइन्छ । यदाकदा कसैले बिधुवा महिलालाइ अपनाइ हाल्यो भने पनि, हेर न कोहि केटी नपाएर फलानोको छोराले बिधुवासंग गरेछ । यस्तै कुराहरुले समाजले जिन्दगिभरी धब्बा लगाइदिन्छ ।

तर बिदुर पुरुष प्रती भने यो समाज निकै लचिलो भएको देखिन्छ । बिदुर पुरुषलाई चिन्ता न गर्नु जिन्दगी लामो छ । एउटा केटी खोजेर विवाह गर्नु पर्छ भन्दै घरबार भनसुन सुझाव दिन्छन् । अचम्म छ है ! समाजको नीति र नियम, म सोध्न चाहान्छु–ती नीति निर्माण गर्नेहरुलाइ प्रकृतिले शारीरिक बनावट फरक पार्दैमा इच्छा, चाहना र स्वभाव परिवर्तन गरेर किन जिउन बाध्य बनाइन्छ ? मेरो एउटा साथीको विवाह भएको २ बर्ष मै बिधुवा भइन् । उनलाइ श्रीमानको मृत्युको आरोप लाग्यो । घरमा ठाउँ थिएन अनि माइतिमा सम्मान पाइनन् । श्रीमान जसलाइ उनले आफ्नो जिन्दगी समर्पण गरेकी थिइन् । उनकै मृत्युको आरोप लाग्दा त्यो महिलाको मन कसरी थाम्न सकेको होला । आफन्तको हेला र यो कुदृष्टि समाजको नजरबाट बचेर बस्नु चानचुने कुरा होइन । सङ्गै समाएर हिँड्ने हात र सुखःदुखमा दिने साथ छुट्दा उनलाइ जति पीडा कसलाइ भयो होला र ? त्यही ठाँउमा पुरुषलाई कन्या केटी खोजी पन्चेबाजा बजाएर बिवाह गराइन्छ । उनलाई न कुनै नियमले रोक्छ न त परिस्थितिले नै ।

अब कुरा गरौं, पारपाचुके महिला र पुरुषको । मान्छे मरेर बिधुवा र बिदुर भएर त चित्त बुझाउन सकिन्छ । तर आफुले इमान्दार र साँचो प्रेम गर्दा गर्दै कतिपय अवस्थामा धोका पाएर वा विचार न मिल्दा अलग हुनेहरुको पीडा आफ्नै किसिमको छ । एकल महिला भन्ने बित्तिकै यस्तो लाग्छ कि सबैले प्रयोग गर्न पाउने वस्तु हो । फूलमा माहुरीको भिड लागे जस्तै अघिपछि भिड लाग्न थाल्छन् । यी सब कुराहरुलाइ नजर अन्दाज गर्दै जिन्दगी अगाडि बढाउँदा पनि कसैसङ्ग सम्बन्ध होला, यत्तिकै त के बस्थी होला भन्दै आरोप लगाउन पछि पर्दैनन् । घर छुटेको अनि माइतीमा ठाउँ नमिलेको अवस्थामा यो संसार नै अन्धकार देखिन्छ । एक चोटि मृत्युलाइ स्विकार गर्न सजिलो हुन्छ तर बारम्बार मर्दै उठ्दै गर्दाको पीडा सहनु धेरै गार्हो कुरा हो ।

महिला होस् वा पुरुष दुबैलाइ एकार्काको साथ चाहिएको हुन्छ । प्रकृतिको नियम अनुसार एकाअर्का प्रति प्रेम आदान–प्रदान गर्ने इच्छा हुन्छ । यदि आफू जस्तै पारपाचुके पुरुषसङ्ग प्रेम भै हाल्यो भने पनि, प्रेमका वार्ता र यौन सम्बन्ध कायम गरुन्जेल, घुमफिर गरुन्जेल सम्म ठिकै हुन्छ । तर जब बिगतलाइ स्विकार गरेर वर्तमानमा खुशी दिँदै भविष्यलाई राम्रो बनाउने कुरामा परिवार र समाज बाधक बन्छ ।

पारपाचुके महिलाले पुनः विवाह गर्दा लाग्छ संसार नै उल्टियो । नीति नियम सबै भ्रष्ट भएर गयो । विवाहको फोटो फेसबुकमा पोस्ट भयो भने के गरेको होला यस्तो हेर भन्दै कुरा काट्न थाल्छन् ।

त्यही ठाँउमा एउटा पुरुषले पुनः बिवाह गरेर फोटे पोस्ट गर्दा बधाईको ओइरो लाग्छ । समाजका नीति निर्माताहरुले घरमा श्रीमती र श्रीमान हुँदाहुँदै ४–५ वटा प्रेमीका र प्रेमी डुलाउँदै हिँड्नु चाहिँ गर्वको कुरा हुने अनि एउटा सङ्ग जिन्दगी बिताउँन चाहान्छु भन्दा गलत हुने ?

कस्तो बिडम्बना महिला र पुरुष बिच समाजले यस्तो भेदभाव किन गरेको होला ? एउटा पुरुष हजारौंसङ्ग सम्बन्ध राखेर आउँदा उसको शरिर शुद्ध हुने अनि यातना, धोका र बिचार नमिलेर महिला एकल हुनु पर्दा अशुद्धको बिल्ला भिरेर बाँच्नु पर्ने ! समाज परिवर्तन गर्छु भन्दै भाषण ठोक्नेहरुले बनाएको नीति नियम स्वागत योग्य रहेछ है ?

यो निर्दयी समाजको नीति नियमले गर्दा कति जीवनहरुले जीवन जिउन सकेका छैनन् । परिवर्तनका शब्दहरु कागजमा होइन बिचारमा हुन आवश्यक छ ।

–भरतपुर, चितवन