शान्त कुमारलाई कारबाही गरेपछि अशान्त बन्दै सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका
वि.सं.२०७८ माघ १८ मंगलवार १२:२८

सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शान्त कुमार यरीलाइ त्यहाँका नगरप्रमुख गाेविन्द कुमार पुनले कारबाही गरेपछि यतिबेला उक्त नगरपालिका अशान्त बन्दै गएकाे छ ।
वडाध्यक्ष विरुद्ध अख्तियारमा उजुरी परेकाे भन्दै मेयर पुनले पुस १९ गते वडाध्यक्षलाइ तत्काल कुनै काम नगर्न भनेर कारबाही गरेका थिए । मेयरले वडाध्यक्षलाइ कारबाही गरेकाे भन्दै यतिबेला नगरपालिका अन्तर्गत कृयाशिल सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आन्दाेलनरत छन् ।
यी तिन पार्टीले केहिदिन अघि मात्रै मेयरले आफ्नाे क्षेत्राअधिकार बाहिर गएर वडाध्यक्षलाइ कारबाही गरेकाे भन्दै कारबाही फिर्ताका लागि संयुक्त वक्तव्य जारी गरेका थिए । हिजाे साेमबार पनि गठबन्धन दलले अर्काे आन्दाेलन थालेका छन् ।
सोमबार बस्ने भनेको बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका बैठक गठबन्धन दलहरुले बहिस्कार गरेका हुन् । बनगाडकाे कार्यपालिकामा गठबन्धन दलका सदस्यहरुकाे बहुमत छ । एमालेबाट निर्वाचित मेयर गाेविन्द पुन यहाँ अल्पमतमा छन् ।
वडा नम्बर १ का वडाध्यक्ष शान्त कुमार यरिलाइ कारबाही भएको जानकारी गराउँदै मेयर पुनले बैठकमा नबस्न आग्रह गरे पश्चात् बहुमत सदस्यहरूले बैठकमा यरीलाइ बस्न माग गर्दै बहिस्कार गरेका हुन् ।
बहुमत सदस्यहरुले बैठक बहिस्कार गरेपछि कुनै विषय वा एजेन्डामा प्रवेशै नगरी कार्यपालिकाकाे बैठक स्थगित भएकाे निमित्त् प्रमुख प्रशासकिय अधिकृत चक्र रावतले बताए । साेमबारकाे कार्यपालिका बैठकमा १५ सैयाकाे अस्पतालकाे टेन्डर प्रक्रिया लगायतका एजेन्डाहरुमा छलफल गर्ने कार्यतालिका थियाे ।
वडा नम्बर १ का वडाध्यक्षले नगरप्रमुखले आफुमाथी गरेकाे कारबाही फिर्ता नलिएकाे, याेजना समितिमाहरुमा आफ्ना मान्छे भए मात्रै कार्यनवयन गर्ने, बैठकमा सदस्यहरुलाइ थर्काउने लगाएतकाे प्रवृति देखाएकाेले बैठक स्थगित गरेकाे बताए । उनले यी कार्यहरु नगरप्रमुखले नसच्याएसम्म बैठक सुचारु हुन नदिने बताए ।
बनगाडमा २२ जना कार्यपालिका सदस्यहरुमा गठबन्धनमा उपमेयर सहित १७ जना र एमालेमा मेयर सहित ५ जना छन् । कार्यपालिका बैठक बस्न नसक्दा विकास निर्माण कार्यमा धेरै दूरगामी असर पर्ने देखिएकाे छ । कार्यपालिका बैठक बस्न नसक्दा हिउँदे अधिवेशन समेत प्रभावित भएको छ ।
वि.सं.२०७८ माघ १८ मंगलवार १२:२८

















