निजगढ वडा नं. ९ को कार्यालय सञ्चालनका सहयोग जुट्दै, युवाहरुले गरे कम्प्यूटर सहयोग
वि.सं.२०८२ मंसिर १६ मंगलवार २१:२०

बारा–जेन्जी आन्दोलनका क्रममा कार्यालयमा सरसमान जलाईएपछि सेवा सञ्चालनमा असहज भईरहेको निजगढ नगरपालिका ९ नम्बर वडा कार्यालयलाई कम्प्यूटर सहयोग प्राप्त भएको छ ।
वडाका तीन जना युवा समाजसेवीहरूले भदौं २४ गते आगजनीका कारण क्षति पुगेको कार्यालयलाई अत्यावश्यक सहयोग प्रदान गरेका हुन् ।
आन्दोलन तथा प्रदर्शनका क्रममा कार्यालयभित्र रहेका सामग्रीमा आगजनी हुँदा ठूलो धनमाल क्षति भएको थियो ।
भौतिक सामग्रीको अभावका बीच कार्यालय सञ्चालनमै समस्या परेको अवस्थामा स्थानीय समाजसेवीहरू दिनेश श्रेष्ठ, एकलाल (भक्ते) श्रेष्ठ, र ललित श्रेष्ठले संयुक्त रूपमा वडा नं. ९ का अध्यक्ष रामचन्द्र कटुवाल, वडा सदस्य चित्र प्रसाद चौलागाई, बबिता श्रेष्ठ, इन्द्र कुमारी सुनारलाई डेल कम्प्यूटर सेट हस्तान्तरण गरेका हुन् ।
उनीहरूले गरेको यो सहयोगले कार्यालयको दैनिक प्रशासनिक तथा सूचना–प्रविधि सम्बन्धी कार्य सुचारु गर्न महत्वपूर्ण टेवा पुगेको वडा अध्यक्ष कटुवालले बताएका छन् ।

यसअघि निजगढ नगरपालिकाका प्रथम पूर्व मेयर सुरेश खनालले एक थान फोटोकपी मेसिन प्रदान गरेका थिए ।

त्यसअघि निजगढ नगरपालिका वडा नं ९ मा बस्ने युवा व्यवसायी तेज बहादुर चौलागाई (राम)ले स्टिल दराज १ एक थान प्रदान गरेका थिए ।

त्यस्तै निजगढ नगरपालिका वडा नं ९ का समाजसेवी अमर ग्यालन मगरले रिभोल्भिङ चियर प्रदान गरेका थिए ।

त्यस्तै भूमिगत जल सिंचाई उपभोक्ता समितिबाट अफिस टेबल र स्टिल दराज प्रदान गरेको थियो ।
वि.सं.२०८२ मंसिर १६ मंगलवार २१:२०
















