skip this farak Kura Pravakar

यात्रा संस्मरण : स्वर्ग पुग्ने बाटो देवघाटबाट सिक्नुपर्ने पाठ

2.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

लक्ष्मी पाण्डे
लोकोक्ती नै छ –बुढेसकालमा देवघाट गएर बस्न पाए स्वर्ग पुगिन्थ्यो । उमेर पाको भएपछि प्रायः मानिसको मनमा यो बिचार आउँछ रे, म देवघाट गएर बस्न पाए हुन्थ्यो । मैले बच्चा बेलादेखि गाउँघरमा यो कुरा सुन्दै आएकि थिएँ । एक पटक मलाई त्यहाँ पुगेर रात बिताउने संयोग मिल्यो । यसले मलाई पनि केही जान्ने र बुझ्ने उत्कन्ठा जाग्यो । वास्तवमा के रहेछ त त्यहाँ त्यस्तो जान्नै पर्ने महत्वपूर्ण कुरा ?
केही मानिसहरु आफ्नो जीवनको उत्ताद्र्धमा घरपरिवारमा प्राप्त सबै सुख, सयल छोडेर, घर परिवारका सदस्यहरुको न्यानो माया, प्रेम छोडि त्यहाँ गएर आफ्नो समय ब्यतित गरिरहेका हुन्छन् । त्यहाँको गंगाधाममा दिनानुदिन नुहाई आफू शुद्ध पबित्र भएको महशुस गर्छन् ।
चितवन जिल्लासँग जोडिएको तनहुँमा पर्ने देवघाट परापुर्वकालदेखि एउटा प्रशिद्ध तिर्थस्थल मानिन्छ । त्यहाँ अरु केही नभएर काली गण्डकी र अरु नदिहरु मिसिएर बगेकी त्रिशुली नदिको संगम, जहाँ नित्य स्नान गर्यो भने पुण्र्य तथा मोक्ष प्राप्त हुने विश्वास प्रचलित छ । साथै देबिदेबताहरुको बासस्थान मानिने त्यो ठाउँमा मानिसहरुको मनमा सकारात्मक उर्जा भर्ने तत्व अवश्य हुनुपर्दछ ।
जब म त्यहाँ पुगेकी थिएँ । संयोगबस एउटा आश्रममा बस्ने अवसर प्राप्त भयो । त्यहाँको सबैभन्दा ठूलो आश्रम रहेछ, महेश आश्रम । कक्षा छ देखि मास्टर्स सम्म संस्कृत पढाई हुने त्यो विद्यालय, जहाँ नेपाल भरका विद्यार्थीहरु आउँदा रहेछन् शिक्षा आर्जनको लागि । त्यहाँको नियम अनुशासन भित्र रहेर जो कोहिले निःशुल्क अध्ययन गर्न पाउँदा रहेछन ।

त्रिशुली नदिको संगम । तस्वीर : रत्नबहादुर बस्नेत

हामीलाई लाग्छ, संस्कृत पढाई पनि कुनै शिक्षा हो र ? कुनै ज्ञान हो र ? के पढेका होलान ती विद्यार्थीहरु, के पढाई रहेका होलान ती संस्कृतका शिक्षकहरु ? यो शिक्षाले कसरी जिबिकोपार्जन होला ? आदि ईत्यादी तर्क बितर्कहरु हाम्रा मनमा उठ्लान । किन भने अहिले हाम्रो विद्यालय शिक्षामा न संस्कृत पढाइ हुन्छ न नैतिक शिक्षा नै पढाइ हुन्छ । हामीले पढ्दा कक्षा पाँचसम्म नैतिक शिक्षा र संस्कृत शिक्षा बिषय राखिएको थियो । पछि ती विषय पाठ्यक्रमबाट नै हटाईयो । अहिले प्रचलित शिक्षाले हाम्रा पुस्ताहरुमा यी ज्ञान ओझेलमा परेका छन ।
त्यहाँका गुरुहरुसँग केही कुराकानी गर्ने मौका मिल्यो । शिक्षा सम्बन्धी आफ्नो उत्सुकता भनौं या जिज्ञासा मेट्ने अवसर मिल्यो । मलाई त्यहाँ प्रचलित शिक्षा वास्तवमै जीवन उपयोगी लाग्यो । यसले ब्यक्तिगत अनुशासन, नैतिकता, आफू भन्दा ठुलोलाई गर्नु पर्ने आदर, सम्मान, मानमर्यादा, जीवनको महत्व, पारिवारिक मानमर्यादा, गुरुजन प्रतिको व्यवहार, साथी भाई ईष्टिमित्र प्रतिको व्यवहार या भाईचाराको सम्बन्ध र महत्व, राष्ट्र भक्तिको जीवन दर्शन आदि धेरै कुराहरु बारेमा छलफल र सिकाई हुँदो रहेछ त्यहाँ ।


हामीलाई एउटा कोठा बस्नको लागि उपलब्ध थियो । भित्र बाथरुम, तीन वटा बेड छुट्टाछुट्टै भएको । यात्राबाट थकित मन बिसाउन पाउँदा अत्यन्त खुशी लाग्यो । साँझमा आश्रम भित्रै खानाको प्रबन्ध हुँदोरहेछ । खानाको लागि घण्टी बज्दो रहेछ, हामीलाई थाह भएन । एकछिनमा एउटा भाई दिज्जुहरु ! खाना समय भयो, ऊ त्यहाँ पाल्नु होला भन्दै आईपुगे । हामी ज¥याकजुरुक उठेर भोजनालय तिर गयौं । त्यहाँ निकै ठूलो जमातमा बिद्यार्थी भाईहरु, गुरुबरहरु, हामी जस्तै आगन्तुक पाउँनाहरु पिर्कामा बसेर भोजन लिनु अगाडि संस्कृतका स्लोकहरु पढ्दै थिए । केही भाईहरु खाना बाँड्न सेवा गर्दै थिए । खानु अगाडि एउटै स्वर र लयमा दुईहात जोडेर प्राथना हुँदोरहेछ पाँच मिनेट सम्म । सबैलाई खाना राखिसके पछि एकैपटक भोजन ग्रहण गरिंदो रहेछ । सबै चुपचाप भएर खाना खाई रहेका थिए । खाना खाँदा नबिल्ने नियम रहेछ । हामी पनि त्यही अनुशासन फलो गरिरहेका थियौं । मैले एउटा फोटो लिन अनुमती मागें ।


लगभग तीन सय जतिको हाराहारीमा संगै बसेर भोजन गर्ने अवसर प्राप्त भयो । भोजन ग्रहण भन्दा पनि मलाई त्यहाँको वातावरण र परिबेशले मनमा छोईरहेको थियो । भरी कौतुहलता जागिरहेको थियो । वास्तवमा हाम्रो संस्कृती र संस्कार बेजोड छ । तल कछाड मात्र बेरेका, जनै धारण गरेका, टाउकोमा लामो–लामो टुप्पी पालेका स–साना भाईहरु, चिसो मौसममा क्गाली खुट्टा आफ्नो कर्म गरिरहेका थिए । उनिहरुलाई कति चिसो लाग्दो हो, मेरो जिउ सिरिङ्ग भयो । सिमेन्टको भुँई र खाली खुट्टा अनि मेरो मन झनै चिसो भएर आयो । खानामा भात, दाल र सब्जी थियो । दाल भात नलिनेहरुका लागि रोटिको ब्यवस्था थियो । धेरै जनाको लागि पकाईएको खाना कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । मेरो आडैमा बस्ने एक जना नब आगन्तुक÷पाउँनाले नाक चिउरी पार्दै बल्ल बल्ल खाँदै भनिन–कसरी बाँचेका होलान आश्रममा बिद्यार्थी भाईहरु । हाम्रो त मुखै पो बिग्रेछ है । मैले हो त नि मात्र भनें । अनि एकै पटक सबैको खाना समय सकियो र फेरि एउटै स्वरमा स्लोक बाचन गरेर आ–आफ्नो जुठो थाल लिएर लाईन लागे । पालैसँग थाल निश्चित स्थानमा राखी चुठ्ने लाईन हुँदोरहेछ । पालैपालो आफ्नो भाँडा सफा गर्ने रुटिन हुँदोरहेछ । हामीहरुले उनिहरुकै फलो ग¥यौं । त्यहाँको अवस्थाले मलाई अत्यन्त भावुक बनायो । आफ्ना बालबच्चा जस्ता सम्झेर आँखा रसाए ।
बिहान पाँच बज्दा उनिहरुलाई उठाउनको लागि घण्टी बज्दो रहेछ । सबैले उठेर नुहाईधुवाई गरि छेवैको मन्दिर नीर गई पुजापाठ र आरधना गर्दा रहेछ्न । त्यसपछी खुला मैदानमा लाईनबद्द भएर शारीरिक अभ्यास गरिंदो रहेछ । म्युजिक कक्षा हुँदा मादल, खैजेडी मुजुरा सबै लिएर गुरुले गित गाएर नै पठनपाठन गराँउदा रहेछ्न । सँगसँगै बिधार्थिले गाउने बजाउने गर्दा रहेछ्न । त्यहाँ हप्ता– हप्तामा साहित्य कार्यक्रम पनि हुँदोरहेछ । म यसै पनि साहित्य बिधा मन पर्ने मान्छे, एकदम रोमान्चित भएँ । खसी लाग्यो ।
यसरी जीवनलाई नै बदल्ने खालको व्यवहारिक शिक्षा देखेर अनौठो लाग्यो । त्यहाँको नतिजा बारे बुझ्ने कतुहलता जाग्यो । एस एल सि को नतिजा हेर्दा सबैको ए प्लस आएको देखेर झनै छक्क परें । एक दुई जनाको होला ए, नत्र सबैको ए प्लस नतिजा एकदम खुशी लाग्यो ।
एकपटक त्यहाँ पुग्नेहरुले त्यो शैक्षिक संस्थामा नजर लगाउनु हुन हार्दिक अनुरोध गर्दछु । हामिलाई पनि धेरै कुरा सिक्ने मौका अवश्य मिल्नेछ ।
वास्तवमा शिक्षा ब्यबहारिक नै हुनुपर्छ । ब्यबहारिक शिक्षाको अभावमा हाम्रो देश कता गईराखेको छ भन्ने कुरा अहिलेको परिबेशले छर्लङ्ग पारेको छँदैछ । अर्को तर्फ अनेकौं बिकृती र बिसंगतिहरु फैलिईरहेका छन । हाम्रो देशको शिक्षा कत्ती ब्यबहारिक छैन र ब्यबशाहिक छैन । जसको कारण आज लाखौं युबा बिदेशी कामदार हुन बाहिर भौंतारिईरहेका छ्न । कृषि प्रधान भनिएको देशमा यदि शिक्षा कृषीमुखी भईदिएको भए बिदेशी मुलुकमाथी निर्भर हुनु पर्दैन्थ्यो । हामी आत्मनिर्भर र पुर्ण स्वाबलम्बी भएर आत्म सम्मानका साथ बाँच्न सक्ने थियौं । यहाँ आवस्यक सबै खाले जनशक्ति उत्पादन भएको भए आज लाखौं हेक्टर भुमी बाँझो देख्न पर्दैनथ्यो । कृषि उद्योगहरु फस्टाउथ्यो । हज्जारौं युबाले स्वदेशममै रोजगार पाउने थिए ।
देशको अवस्था यस्तो हुँदा समेत हाम्रा शिक्षाबिदहरु बाहिरिया शिक्षालाई भित्र्याउन चाहान्छन् । उनिहरु यसैलाई ठूलो परिवर्तन सम्झिन्छन । शिक्षा सदैब समयसापेक्ष तथा आफ्नो माटो, भुगोल र देशको आर्थिक सामाजिक अवस्था सुहाउँदो हुन जरुरी छ ।
–लेखक लक्ष्मी पाण्डे राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरमा कार्यरत हुनुहुन्छ ।

nijgadh-supermart-adz1200-630