पुरुषसंग महिला भगाउन सहयोग गरेको आरोपमा वडा सदस्यलाई खम्बामा बाँधेर निर्घात कुटपिट
वि.सं.२०७८ भदौ ५ शनिवार १५:५५
बारा : बारामा स्थानीय तहका जनप्रतिनिधि नै असुरक्षित भएको घटना सार्वजनिक भएको छ ।
बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य ४५ वर्षिया तारादेवी पासवान स्थानीयबाटै बुधबार राती निर्घात कुटिएको घटना सार्वजनिक भएको हो ।
वडा सदस्य पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
वडा सदस्य पासवानमाथि बिजुलपुर गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।
खम्बामा बाँधेर कुटपिट
पासवानलाई सोही टोलका लहेरा समुदायका महिन्द्र लहेरा, हिरा लहेराका परिवारका सदस्य राती ११ बजेको समयमा घरबाट लछारपछार गर्दै बाहिर निकालेका थिए । पीडित महिलाका अनुसार उनीहरुले शरिरमा लगाएको कपडा समेत च्यातेर नाङ्गो बनाउन खोजेका थिए । उनको शरिरमा भित्रि बस्त्र ब्रा र पेटीकोट राखेर खम्बामा डोरीले बाँधेका थिए ।
आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका घटना बारे सूचना पाएलगत्तै गएको प्रहरी टोली पुगेर उद्दार गरेको थियो ।
प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
आक्रमणकारी पक्राउ
आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।
पीडितले आक्रमणकारीलाई कारबाही गरि न्याय दिलाई दिनका लागि प्रहरी प्रशासन, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, नागरिक अगुवाहरुलाई आग्रह गरेकी छिन् ।
वि.सं.२०७८ भदौ ५ शनिवार १५:५५