जुवातास खेल्दै गरेको अवस्थामा ३९ जना पक्राउ
वि.सं.२०८० कात्तिक २२ बुधवार १४:३२
काठमाडौं । काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–२ ठुलोभर्याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका–५ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट घर भई सोही नगरपालिका४ नौडाँडामास्थित भिम बहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भिम बहादुरसमेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रूपैयाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरेको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार १ सय रूपैयाँसहित पक्राउ गरेको हो ।
वि.सं.२०८० कात्तिक २२ बुधवार १४:३२