निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक ‘रेसुना’ तयार
वि.सं.२०८१ असार ४ मंगलवार १७:१९

बारा-बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जापानी बैंक रेसुनाले प्रस्ताव पेस गरेको छ ।
पूर्ण क्षमताको विमानस्थल अभाव भएपछि साढे तीन दशकदेखि चर्चामा रहेको निजगढलाई अघि सारिएको छ ।
१५ र १६ वैशाखमा काठमाडौंमा आयोजित लगानी सम्मेलनमा साेकेसमा राखिएको निजगढ बनाउन चासो देखाएको रेसुनाले लगानी बोर्डमा प्रस्ताव नै पेस गरेको हो ।
रेसुना बैंकको सो प्रस्ताव लगानी बोर्डको आगामी बैठकमा पेस गरिने बोर्डका प्रवक्ता पद्युम्न उपाध्यायले बताए । ‘यदि नेपाल सरकारले सकारात्मक रेस्पोन्स गरेमा हामी निजगढ विमानस्थल निर्माण तथा सञ्चालनका लागि तयार छौँ,’रेसुनाको प्रस्ताव उल्लेख छ ।

जापानको रेसुना बैंकले दोहोर्याएर निजगढमा लगानी प्रस्ताव गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । ‘तर, कुनै पनि लगानीकर्ताको आशय आउँदैमा लगानी गर्न पाइहाल्छ भन्ने हुँदैन, लगानीसम्बन्धी कानुनले आशयपत्रलाई चिन्दैन,’ बोर्डका प्रवक्ता उपाध्यायले भने, ‘यदि सरकारले निर्माण तथा सञ्चालन गर्न दिन चाहेमा सार्वजनिक रूपमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर छनोट गर्नुपर्ने हुन्छ ।’
वि.सं.२०८१ असार ४ मंगलवार १७:१९

















