पत्रकार मृत्यु प्रकरण : श्रमजीवि पत्रकार संघले भेट्यो सिभिल हस्पिटल र टेलिभिजन प्रशासन
वि.सं.२०७८ माघ ७ शुक्रवार २१:२८

काठमाण्डौं : पत्रकार लालबहादुर विश्वकर्मा ‘एलबी’ को मृत्यु प्रकरणलाई लिएर श्रमजीवि पत्रकार संघ नेपालको नेतृत्व सक्रिय भएको छ ।
पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही भएको र आर्थिक अभावमा उपचार प्रभावित भएको खबर बाहिरिएपछि संघले शुक्रबार विश्वकर्मा कार्यरत टेलिभिजन प्रशासन र उपचार गरिएको सिभिल हस्पिटल प्रशासनसंग जानकारी लिएको छ ।
छानविन गर्न माग
टोलीले अस्पताल व्यवस्थापनसँग छलफल गरेको छ । उपचार नगरी आसियु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानविनसहित कारवाहीको माग गर्र्दै पुगेको टोलीले व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उनको प्रतिनिधि डा. अनुजजङ्ग रायमाझीसंग छलफल गरेको हो ।

छलफलका क्रममा संघका अध्यक्ष जन्मदेव जैसीले घटनाको छानविन नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने चेतावनी दिए । उनले निष्पक्ष छानविनसहित कारवाही र उचित क्षतिपूर्ति नदिए श्रमजीवी–पत्रकार संघ, नेपालको नेतृत्वमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारे ।
व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आइसुलेशनमा भएकाले उहाँले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आगामी आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठकबाट ठोस गर्दै न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं फरक नेपाल डटकमका अध्यक्ष तथा सह सम्पादक महेश्वर अधिकारीले आर्थिक अभावमा पत्रकारले ज्यान गुमाउनु पर्ने अवस्था आउनु दुखद् भएको बताए । उनले अस्पतालमा मानविय व्यवहार देखाउन अस्पताल प्रशासनलाई आग्रह गरे ।
पारिश्रमिकबारे चासो
पत्रकार एलबी विश्वकर्मा कार्यरत टिभी टुडेमा पुगेर पारिश्रमिक पाए नपाएको बारेमा समेत जानकारी लिएको छ । टेलिभिजनका कार्यकारी निर्देशक विराज पन्त, प्रधानसम्पादक अरुणदेव जोशीसँग विश्वकर्माको उपचार खर्च र पारिश्रमिकबारे जानकारी लिएको हो ।
टेलिभिजनले विश्वकर्माको रकम सबै दिएको भएपनि सामाजिक सुरक्षा कोष लागु नभएकोमा लागू गरिनुपर्ने, मृतक पत्रकारको आफन्तलाई राहत दिनुपर्ने, मृतकको बच्चालाई पढाई खर्च दिनुपर्ने विषयमा संघले ध्यानाकषर्ण गराएको छ ।
टोलीलाई व्यवस्थापनले तत्काल किरिया खर्च २१ हजार दिएको छ भने बाँकी बच्चाको पढाई खर्च स्वर्गीय पत्रकारको जीवन संगिनीको खातामा जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सामाजिक सुरक्षा कोषलगायत न्युनतम पारिश्रमिक लगायत अन्य ऐनमा तोकिएका सेवा सुविधा दिलाउने विषयमा टेलिभिजनको बैठक बसेर निर्णयमा पुग्ने कार्यकारी सम्पादक जोशीले प्रतिवद्धता जनाए ।
संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा रहेको पत्रकारको टोलीमा संघका केन्द्रीय सदस्य केशव भुल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिवराज खत्री, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी, फरक नेपाल डटकमका डेक्स सम्पादक गणेश विकलगायत सहभागि थिए ।
यो पनि …
https://faraknepal.com/8567
यो पनि …
https://faraknepal.com/8478
यो पनि …
https://faraknepal.com/8436
यो पनि …
https://faraknepal.com/8375
वि.सं.२०७८ माघ ७ शुक्रवार २१:२८

















