मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो, पर्साबाट दुई मन्त्री नियुक्त
वि.सं.२०८२ पुस १६ बुधवार २३:४०

धनुषा-मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।
आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिजम्मेवारी पाएका छन् ।

शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
पर्साबाट दुई मन्त्री नियुक्त
पर्साबाट निर्वाचित दुई जना प्रदेशसभा सदस्य श्याम पटेल र शंकर चौधरी मन्त्रीमा नियुक्त भएका छन्। दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
प्रदेशसभा सदस्य श्याम पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका हुन्।
त्यस्तै, प्रदेशसभा सदस्य शंकर चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। चौधरी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित भएका हुन्।
नवनियुक्त मन्त्रीद्वयको शपथ ग्रहणसँगै प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा विकास, कृषि सुधार तथा वातावरण संरक्षणका क्षेत्रमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
वि.सं.२०८२ पुस १६ बुधवार २३:४०
















