सीके राउत: संसदीय राजनीतिबाट सन्यास, ‘संघर्षको राजनीति’ जारी
वि.सं.२०८२ चैत २ सोमवार ११:४९

काठमाडौं–जनमत पार्टीका अध्यक्ष सीके राउतले अब संसदीय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन्, तर ‘संघर्षको राजनीति’ भने निरन्तर अघि बढाउने बताए।
उनले सामाजिक सञ्जालमा स्पष्ट पारेका छन्, “म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको अर्थ राजनीतिबाट गायब भएको होइन। म आफ्नो सिद्धान्त र एजेण्डालाई अघि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै रहिरहनेछु।”
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट उदाएको दल हो। त्यसबेला पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो। प्रत्यक्षतर्फ राउत स्वयं चुनाव जितेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड हटाउँदा थप पाँच सिट प्राप्त भएको थियो।
तर २०८२ फागुन २१ को निर्वाचनमा पार्टीले एक सिट पनि जित्न सकेन। सप्तरी–२ बाट प्रतिस्पर्धा गरेका राउत रास्वपाका रामजी यादवसँग पराजित भए। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पार्टीका अन्य उम्मेदवार पनि सफल भएनन्।
अध्यक्ष राउतले भने, “म पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयार गर्न प्रतिबद्ध छु। म सदैव जनतासँगै हुनेछु र हरेक मोर्चा र संघर्षमा भूमिका निर्वाह गर्नेछु।”
उक्त निर्णयमा व्यक्तिगत बाध्यता रहेको पनि उनले उल्लेख गरे। आफूलाई पार्टी अध्यक्ष बन्न अरुले नमानेको र चुनाव लड्न पनि व्यक्तिगत इच्छाविपरीत बाध्य भएको बताए। राउतका अनुसार, “जनकपुरमा नरेन्द्र प्रसाद चौधरीज्यूसहितका साथीहरूलाई पटक–पटक सम्झाएँ, तर उहाँहरूले मान्नुभएन। त्यसपछि म स्वयं जनमत पार्टीको अध्यक्ष बन्न बाध्य भएँ।”
वि.सं.२०८२ चैत २ सोमवार ११:४९
















