निजगढमा हावाहुरीसहित वर्षा, खयरघारीमा रुखले घर थिच्यो
वि.सं.२०८२ चैत ६ शुक्रवार २०:५५

बाराको निजगढ क्षेत्रमा शुक्रबार अपराह्न तीव्र हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यूनचापीय प्रणाली पश्चिम र पूर्वी नेपाल हुँदै निजगढ आइपुगेपछि मौसममा अचानक परिवर्तन देखिएको हो।
हावाहुरीका कारण निजगढमा विद्युत सेवा अवरुद्ध भएको छ भने विभिन्न स्थानमा रुख ढल्दा घरहरूमा क्षति पुगेको छ। निजगढ–८ खयरघारीस्थित अजय मलिकको घरमाथि सिमलको रुख ढल्दा आसपासका घरहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त प्रणालीको प्रभावले मधेससहित तराई र भित्री मधेस क्षेत्रमा चट्याङ र असिनासहित भारी वर्षा हुने सम्भावना रहेको छ।
प्राधिकरणले हावाहुरीका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, तार चुँडिने र जस्तापाताका छाना उड्ने जोखिम रहेको चेतावनी दिएको छ। त्यसैले जोखिमपूर्ण यात्रा नगर्न र हावाहुरी नरोकिएसम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
वि.सं.२०८२ चैत ६ शुक्रवार २०:५५
















