पचरौता नगरपालिकाको बजेट ६३ करोड, यस्ता छन् लोकप्रिय कार्यक्रम
शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथमिकतामा
वि.सं.२०७९ असोज १६ आइतवार १४:०७

बारा– बाराको पचरौता नगरपालिकाले आर्थिक वर्ष २०७९⁄८० लागि ६३ करोड नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
नगरपालिकाको नवौं नगरसभामा शुक्रबार नगर प्रमुख जलान्धर सिंहले नगरपालिकालाई करमुक्त क्षेत्र बनाईने घोषणा गरेका छन् । यसबाहेक कृषकले जडान गरेका कृषी मिटरको बक्यौता नगरपालिकाले तिर्ने, गहुको बिउबिजनमा अनुदान दिने, एमबिबिएस अध्ययनरत छात्रछात्रालाई १० लाख छात्रवृत्ती दिने, सुत्केरी महिलालाई एक हजार पोषण भत्ता दिने, नगर अस्पतामा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिनेलगायत शिक्षा, स्वास्थ्य, कृषी क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको जनाए ।
नगर सभा नहुँदा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित हुन पुगेको थियो भने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई तलब सुविधा उपलब्ध गराउन सकेको थिएन् । नगरसभा सम्पन्न भएसंगै अब तलब सुविधासहित विकास निर्माणका काम अघि बढ्ने नगर प्रमुख जलान्धर सिंहले बताए ।

कानूनअनुसार असार १० गते बजेट ल्याएर असारमसान्तसम्म पास गर्नुपर्ने भएपनि लामो समयको अन्यौलतापछि नगरसभाले बजेट पारित गरेको छ ।
नव निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिनका लागि भएको षडयन्त्र चिर्दै नगरसभा सम्पन्न गरेको भन्दै सिंहले अब पचरौतामा विकासमा केन्द्रीत कार्यक्रम हुने बताएका छन् ।
नगरसभामा उपप्रमुख नसिमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहसहित निर्वाचित जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।
नगर सभामा वडा नं. ५ का अध्यक्ष लक्ष्मी यादवले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने वडा नं. १ का अध्यक्ष विनय सिंहलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वि.सं.२०७९ असोज १६ आइतवार १४:०७


















