जीतपुर बजारमा भीषण दुर्घटना ! अनियन्त्रित ईभी कार प्रभात ज्वेलर्सभित्रै पस्यो
वि.सं.२०८३ साउन १० आइतवार २०:१२

जितपुर बजारमा भीषण दुर्घटना : अनियन्त्रित ईभी कार प्रभात ज्वेलर्सभित्रै पस्दा लाखौंको क्षति
१० साउन, बारा। बाराको जितपुर बजारस्थित टेढारोडमा रहेको प्रभात ज्वेलर्समा शनिबार साँझ एक अनियन्त्रित ईभी कार सोझै पसलभित्र पस्दा ठूलो भौतिक क्षति भएको छ।
बागमती प्रदेश ०१–०३८ च ३९८० नम्बरको कालो रङको JAECOO EV तीव्र गतिमा आइरहेको अवस्थामा चालकले नियन्त्रण गुमाउँदा पसलको अगाडिको सिसा, काँचका काउन्टर तथा शोकेस फुटाउँदै भित्रै ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनाको प्रभाव यति ठूलो थियो कि कारको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने एयरब्यागसमेत खुलेको छ। त्यस्तै, सुनचाँदी राखिएका शोकेस र पसलको संरचनामा पनि व्यापक क्षति पुगेको छ।
घटनाको सबैभन्दा राहतको पक्ष भनेको दुर्घटनाका बेला पसलभित्र रहेका कर्मचारी तथा ग्राहकसहित कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। सम्भावित ठूलो मानवीय दुर्घटना भने बालबालिकासहित सर्वसाधारणको भागदौड र संयोगले टरेको स्थानीयको भनाइ छ।
प्रहरीले दुर्घटनापछि कारलाई नियन्त्रणमा लिएको छ। कार किन अनियन्त्रित भयो, चालकको अवस्था कस्तो थियो तथा क्षतिको यथार्थ विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ। क्षतिको मूल्यांकनपछि मात्रै वास्तविक आर्थिक नोक्सानी खुल्ने प्रहरीले जनाएको छ।
यस घटनाले बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउँदा निम्तिन सक्ने जोखिमलाई फेरि एकपटक उजागर गरेको स्थानीयवासीले बताएका छन्।
वि.सं.२०८३ साउन १० आइतवार २०:१२

















