skip this

उद्घाटन सोमबार, सर्वसाधारणले भने अझै तीन महिना कुर्नुपर्ने : यस्तो छ नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सम्पूर्ण तयारी

261 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि उद्घाटनलगत्तै सर्वसाधारणका सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।

आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई प्राथमिकतामा राख्दै एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ। त्यसपछि सुरक्षा पूर्वाभ्यास (फुल मक ड्रिल) र आवश्यक प्राविधिक परीक्षण सम्पन्न भएपछि मात्र अन्य सवारीसाधनका लागि सुरुङमार्ग खुला गरिनेछ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आउन करिब तीन महिना लाग्नेछ।

सुरुङमार्ग सञ्चालनपछि धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुसम्मको यात्रा करिब ७ मिनेटमै पूरा हुने बताइएको छ। यसबाट साना सवारीलाई कम्तीमा १५ मिनेट र ठूला सवारीलाई ३५ मिनेटसम्म समय बचत हुने अपेक्षा गरिएको छ।

सरकारले सुरुङमार्ग प्रयोगका लागि टोल शुल्क पनि निर्धारण गरिसकेको छ। कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ। मिनीबस तथा ट्रकका लागि ११५/८० रुपैयाँ, ठूला बस तथा ट्रकका लागि २६०/२०० रुपैयाँ तथा भारी उपकरणका लागि ६००/२५० रुपैयाँ शुल्क तोकिएको छ। मोटरसाइकल तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

सुरुङमार्गमा आरएफआईडी (एन–ट्याग) प्रणालीमार्फत स्वचालित टोल असुली गरिनेछ भने नगद भुक्तानीको विकल्प पनि उपलब्ध हुनेछ।

भूकम्प प्रतिरोधी संरचनासहित निर्माण गरिएको सुरुङमा रेस्क्यु टनेल, १५ वटा जेट फ्यान, १५ वटा सीसीटीभी क्यामरा, हरेक ५० मिटरमा इमर्जेन्सी टेलिफोन, फायर हाइड्रेन्ट, मोबाइल नेटवर्क तथा एफएम रेडियो सेवा उपलब्ध हुनेछ। सुरक्षा व्यवस्थापनका लागि १५० जना जनशक्ति २४सै घण्टा परिचालन गरिनेछ।

सुरुमा २२ अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनाको लागत विभिन्न कारणले बढेर करिब २९ अर्ब रुपैयाँ पुगेको छ। २०७६ कात्तिक ४ गते सुरु भएको आयोजना कोभिड–१९, स्थानीय विवाद तथा पहिरोका कारण पटक–पटक म्याद थपिँदै अन्ततः सञ्चालनको चरणमा पुगेको हो।

नेपालको सडक पूर्वाधार विकासमा कोसेढुङ्गा मानिएको यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं प्रवेश र बाहिरिने यात्रा थप सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630