देवकोटा जयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्धारा तीन कृति लोकार्पण

स्रष्टालाई सम्मान

504 shares

काठमाण्डौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपालले काठमाण्डौंमा सोमबार कृति लोकार्पण र स्रष्टा सम्मान गरेर मनाएको छ ।

पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’ महेश पौड्यालद्वारा अनुदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ र कमला घिमिरेका हाइकुसंग्रह ‘महको महल’ र बाल कविता संग्रह ‘मामाघर’ को लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मञ्जु काँचुली, रामबाबु सुवेदी, पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराई, महेश पौड्याल, काव्यघर झापाका राजकुमार खड्गाले संयुक्तरुपमा कृतिको लोकार्पण गरेका हुन् ।

महाकवि देवकोटाको तस्वीरमा माल्र्यापण गरेर सुरु भएको कार्यक्रममा वरिष्ठ समालोचक महेश पौड्यालले नेपाली साहित्यमा देवकोटाको अतुलनीय योगदान रहेको बताए । उनले भने, ‘नेपाललाई केन्द्रीयतामा राखेर देवकोटाले कसरी तिब्बत, ग्रीस, युरोप जस्ता धेरै ठाउँलाई लेखनीमा समावेश गरे, त्यसको अध्ययनअनुसन्धान गर्न बाँकी छ । अब यस विषयमा चासो देखाउनुपर्ने बेला भएको छ ।’

साहित्यकार पुष्कर लोहनीले महको महल हाइकुसंग्रह ‘महको महल’मा राजनीति व्यंग्य, मानवीय संवेदना, प्रेमप्रणय, विछोड जस्ता विविध विषय समेटिएको बताए ।

त्यसैगरी साहित्यकार ललिता दोषीले बाल कविता संग्रह ‘मामाघर’ का कविताले बालबालिकालाई मनोरञ्जन दिंदै उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउने बालउपयोगी पाठ्यसामग्री आएको बताइन् ।

कृतिकार कमला घिमिरेले सुरुसुरुमा लेखेर बालबालिकालाई सुनाउने मात्रै गरेको र लकडाउनको समय उपयोग गर्दै सम्पादन गरेको सिर्जनालाई पुस्तककार रूप दिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ साहित्यकार मञ्जु काँचुलीले सानो छँदा देवकोटा पदक पाएको सम्झिदै देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको बताइन् ।

त्यसैगरी काँचुलीले विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्रलाई साहित्यकार महेश पौड्यालले अंग्रेजीमा द हाइकु अ थ्योरोटिकल म्यानुअल अनुवाद गरेर सुनमा सुगन्ध थपेको बताइन् ।

विके पाल्पालीकी पत्नी समेत रहेकी अध्यक्ष भट्टराईले पेरोलका सन्दर्भभगत कुराहरू राख्दै बारम्बार भावुक पनि भएकी थिईन् । विके पाल्पालीको ८ महिना अघि निधन भएको थियो ।

पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष रेणुका भट्टराई ।

स्रष्टा सम्मान

जयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपालले स्रष्टा सम्मान पनि गरेको छ । मोफसलमा बसी साहित्य साधना गरेबापत काव्यघर नेपाल दमक, झापा एवं एभरेस्ट न्यूज टेलिभिजनका पत्रकार/लेखक राजकुमार खड्गालाई पेरोल साहित्य स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको हो ।
उनलाई प्राज्ञ साहित्यकार मञ्जु काँचुली र प्रतिष्ठानका अध्यक्ष भट्टराईले माला, खादा र दोसल्लासहित सम्मान गरिएको थियो । उनले मन्तव्य राख्दै माेफसलका स्रष्टालाई सम्मान गरेकाेमा आभार व्यक्त गरेका थिए ।

पत्रकार/लेखक राजकुमार खड्गालाई पेरोल साहित्य स्रष्टा सम्मान २०७९ बाट सम्मान

कार्यक्रममा साहित्यकार रामबाबु सुवेदीले देवकोटाको गरीब कविता वाचन गर्दै उनलाई सम्झेका थिए ।

बसुन्धरास्थित गोधूली फुडल्याण्डको सभाहलमा पेरोल साहित्य प्रतिष्ठान नेपालकी अध्यक्ष रेणुका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश समीरले सञ्चालन, महेश पौडेलको स्वागत र कमला घिमिरेको धन्यवाद ज्ञापन रहेको थियो ।

कार्यक्रममा पुष्कर लोहनी, रामबाबु सुवेदी, रामप्रसाद अधिकारी, ललिता दोषी, लेखनाथ सिकारु, खोलाघरे साहिंलो, वासुदेव अधिकारी, राजकुमार खड्गा, अञ्जना पौडेल, विक्रमभक्त जोशी, सानु शर्मा, श्रीराम राई, गायक सन्देश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मिडिया पार्टनर नेपाल बोर्डर टिभी, फरक नेपाल डट कम, न्यू सम्भावना राष्ट्रिय मासिक, आर आर अनलाईन टिभी रहेको थियो ।