सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रधानमन्त्री देउवा
वि.सं.२०७८ फागुन ७ शनिवार ०७:४३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।
देउवाले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न पाइरहेको, नागरिक हक‚ अधिकारको उपभोग गर्न पाएको तथा राज्यको सबै तह र संरचनामा आम नागरिकको पहुँच स्थापित हुन सकेको बताएका छन् । यसलाई अब सबैले थप सबल र सुदृढ तुल्याउन आवश्यक रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।
‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ‚’ प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ‚ ‘यसका लागि २००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ ।’
२००७ सालमा भएको प्रजातन्त्र प्राप्तिको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति भएको र यसैको जगमा त्यसपछि विभिन्न क्रान्तिहरू सम्पन्न भई आज हामीले लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेका प्रधानमन्त्री देउवाले बताएका छन् । उनले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय रहेको बताएका छन् । उनले मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन गरेसँगै अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि हामी सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याएका छन् ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, अग्रज नेता तथा कार्यकर्ता सबैमा सम्मान व्यक्त गर्दै सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
वि.सं.२०७८ फागुन ७ शनिवार ०७:४३
















