‘प्रकाश सपुतको गीतले जनयुद्धको विरोध गरेको छैन, सर्जकलाई किन धम्क्याउने?’ भट्टराई
वि.सं.२०७८ फागुन २९ आइतवार १६:०२

काठमाडाैं । गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरुले तिखो टिप्पणी गरिरहेका बेला धेरैले उक्त गीतको सह्राहना गरिरहेका छन् ।
गीतले बोलेको यथार्थ स्वीकार गर्न नसक्ने पक्षबाट आग्रहपूर्ण ढंगमा विरोध जनाइरहेकै बेला पूर्व माओवादी नेता एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सो गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको प्रतिक्रिया दिएका छन् ।
प्रकाश सपुतको गीतले बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने भट्टराईको धारणा छ ।
गत शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।
यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’
तत्कालिन नेकपाको सरकारको बेलामा पशुपति शर्माको ‘लुट्न सके लुट..’ बोलको गितमा भएजस्तै हमला माओवादीलाई ‘पिर’ माथि हमला हुन थालेकाे छ ।
रिलिज भएको पिरकाे भिडियो युटुबमा ट्रेण्डिङ्गको १ नम्बरको पुगेको छ । प्रकाशले करिब ६ महिना पछि नयाँ गीत पिर ल्याएका हुन् । 2,039,266 पटक हेरिएको भिडियोमा 18,294 बढी प्रतिकृया आएको छ ।
वि.सं.२०७८ फागुन २९ आइतवार १६:०२

















