भिभिआईपीलाई आचारसंहिताको अड्चन ! राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री नमिलेपछि..
सभामुखको चर्चा
वि.सं.२०८० माघ २ मंगलवार १२:२२
बारा–मधेस प्रदेशको अग्रणी सामुदायिक विद्यालयको रुपमा स्थापित भएको बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय नगरको पहिलो प्राविधिक शिक्षालय समेत हो ।
वि.स. २०३१ सालमा स्थापना भएको विद्यालयले यो वर्ष स्वर्ण जयन्ती मनाउँदैछ । स्थापनाको ५० वर्षलाई विशेष बनाउन विद्यालयलाई बेहुली झैँ सिंगारिदैछ भने देशको प्रमुख ओहोदामा रहेका भिभिआईपीलाई प्रमुख अतिथि बनाउने निर्णय गरेको छ ।
निर्णयमा राष्ट्रपति, प्रधानमन्त्री लेखिएपनि प्रमुख अतिथिका रुपमा उपराष्ट्रपतिदेखि सभामुखसम्म पहल भएको छ । जसका लागि डेलिगेसनदेखि पत्रचारसम्म भईरहेको छ ।
यी भिभिआईपीको क्यान्सील
राष्ट्रपति रामचन्द्र पौडेलसँग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलासहित संघीय सांसद देवीप्रसाद तिमल्सिना, काँग्रेस नगर सभापति नवराज तिमल्सिना लगायत नेताहरु सितल निवास पुगेर भेटघाट गरेका थिए ।
भेटका प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकोमा त्यहाँ ग्रिन सिग्नल नदेखेपछि टोली फर्किएको थियो ।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्याउन नेकपा (माओवादी केन्द्र) निजगढका अध्यक्ष सन्तोष दंगाल सक्रिय भए । बालुवाटार पुगेर सरसल्लाह गरेर फर्किने क्रममा प्रधानमन्त्री प्रचण्डबाट सकारात्मक प्रतिकृया पाएका जानकारी गराउँदै नेता दंगाल सचिवालबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिताको कारण देखाउँदै उपस्थित हुन नसक्ने जानकारी पाएको बताउँछन् ।
यसविचमा नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य एवं अभियन्ता रविराज दंगालले प्रधानमन्त्री प्रचण्डलाई भेटेको तस्विर सार्वजनिक भयो । भेटबारे जानकारी दिदै दंगालले प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा आउन ईच्छुक भएको प्रतिकृया दिए । उनका अनुसार राष्ट्रिय गौरबको आयोजना निरीक्षणसहितको कार्यक्रम बनाएर प्रधानमन्त्री कार्यक्रममा सहभागि हुने योजनामा थिए ।
भेटेर फर्किएको साँझ सचिवालयबाट फोन गरेर निर्वाचनको आचारसंहिता लागु हुने अवस्थामा कार्यक्रममा जाँदा आलोचना हुने भएकाले कार्यक्रमको एक÷दुई दिन सारेमा प्रधानमन्त्री प्रचण्ड सहभागि हुने जानकारी गराईएको थियो ।
नेता दंगालले सचिवालयबाट प्राप्त सुझावबारे व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी गराएको बताउँछन् । ‘त्यसमा छलफल हुने अवस्था भएमा प्रधानमन्त्री प्रचण्डको भ्रमणसहित विद्यालयको कार्यक्रममा सहभागि हुने अवस्था थियो,’ उनले भने–मिति परिवर्तनबारे कुनै निर्णय हुने अवस्था देखिदैन ।
राष्ट्रिपति, प्रधानमन्त्रीपछि गृह जिल्ला बारा भएका उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई आमन्त्रण गरिएको थियो । पत्रकार गुरुप्रसाद गौतमले उपराष्ट्रपति यादव र उनको सचिवालयमा सम्पर्क र कुराकानीका क्रममा ईच्छा भएपनि निर्वाचनको आचारसंहिताको कारण हुन सक्ने आलोचनाबाट जोगिनु पर्ने बाध्यता अघि सार्दै ‘क्यान्सील’ गरिएको थियो ।
अब सभामुखको चर्चा
चौथो प्रयास सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाउने विषयमा केन्द्रिय भएको छ । निमन्त्रण पत्रचार भईसकेको छ । सभामुख देवराज घिमिरे आउने पक्कापक्की भएको बुझिएको छ ।
वि.सं.२०८० माघ २ मंगलवार १२:२२