अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट कर्याप्यै !
वि.सं.२०७८ माघ १७ सोमवार १२:२३

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिङ्गो सञ्चालक वीरेन्द्र मानन्धर छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर हुन् । मुख्य सञ्चालकचाहिँ फरार छन् ।
मानन्धर सहित रेष्टुरेण्टमा बसेर खेल्ने ७४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।
बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वि.सं.२०७८ माघ १७ सोमवार १२:२३
















