कोरोना खोपबारे झुटो बोलेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाको एमालेले माग्यो राजीनामा
वि.सं.२०७८ फागुन ३ मंगलवार १६:४८

काठमाडौं । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेकाे छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको खतिवडाले अभिव्यक्ति दिएपछि एमालेकाे स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख याेगेश भट्टराईले विज्ञप्ति मार्फत खाेपबारे अफबाह फैलाएकाे भन्दै राजीनामा दिन माग गरेका हुन् ।
https://faraknepal.com/12002
खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दावी गरेका थिए ।
उनको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।
https://faraknepal.com/10241
एमालेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’
स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दावी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।
https://faraknepal.com/10380
आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित नहुने जारी विज्ञप्तिमा उल्लेख छ । यही कारण उनले तत्काल राजीनामा गर्नुपर्ने एमालेको माग छ ।
साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १६:४८

















