skip this

झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते: चार होटल र एउटा युवा क्लबको भवन जल्यो

1.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

झापा । झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन् ।
उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे आगो सल्किएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको छ । स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलिया पलियाको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो । होटलका सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए ।
आगलागी शुक्रबार बिहान ३ बजे कमल गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले निभाएको थियो ।
आगलागी निभाउन स्थानीय बासिन्दा र प्रहरी पनि खटेका थिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

nijgadh-supermart-adz1200-630