अवैध काठसहित चारवटा ट्रक प्रहरीको नियन्त्रणमा

1.01K shares

सुर्खेत : प्रहरीले अवैध काठसहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको ओदालतालबाट ती ट्रक नियन्त्रणमा लिइएको हो ।
ती ट्रकमा लोड गरिएको करिब दुई हजार क्युफिट साल जातको काठ प्रहरीले बरामद गरेर डिभिजन वन कार्यालय सुर्खेतमा बुझाएको छ । दिपमाला सःमिलका संचालक राजेन्द्र गिरीले ल्याउँदै गरेको अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ ।
पश्चिम बेतान कुल्लुबाट वीरेन्द्रनगर ल्याउँदै गरेको उक्त काठ प्रदेश प्रहरी कार्यालय विउरोको टोलीले नियन्त्रणमा लिएको हो ।एक हजार ६५५ क्युफिट काठ ल्याउने स्वीकृति लिए पनि उनीहरुले अनुमतिभन्दा बढी काठ ल्याउन लागेको सूचना पाएपछि प्रहरीले काठसहित ट्रक नियन्त्रणमा लिएको हो ।
डिभिजन वन प्रमुख गोविन्द दाहालले काठ स्वीकृति लिएको भन्दा बढी ल्याएको पाइएको बताए । यद्यपि बरामद काठको परिमाण यकिन नभएको उनले जानकारी दिए ।
उनले यो काठ अन्यत्र क्षेत्रबाट आएको हुँदा आफुले कारबाही गर्न नमिल्ने बताउँदै कारबाहीका लागि प्रदेश वन निर्देशनालयमा पठाइने जानकारी दिए । आवश्यक छानबिनपछि दोषी ठहरिए वन ऐन अनुसार कारवाही हुने उनको भनाइ छ । ट्रक चालक र सहचालकलाई प्रहरीको निगरानीमा राखिएको छ ।